एक्जियाटा समूह एनसेलबाट बाहिरिने तयारी


ईकोनोमिक खबर, काठमाडौं । एनसेलको प्रमुख लगानीकर्ता एक्जियाटा समूह एनसेलबाट बाहिरिने तयारी गरेको छ । नेपालमा व्यवसाय गर्न कठिनाई भएको औंल्याउँदै सो समूहले एनसेलबाट आफ्नो स्वामित्व फिर्ता लाने घोषणा गरेको हो । 

मलेसियामा प्रमुख कार्यालय रहेको एक्जियाटा समूहका प्रमुखले नेपालमा व्यावसायिक चुनौती बढेको भन्दै आफ्नो सञ्चालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको बताएका छन् । 

एनसेलबाट बाहिरिने निर्णयसँगै उसको ब्राण्ड र स्वामित्व बिक्रीका लागि राख्ने एक्जियाटा समुहले बताएको छ । एनसेलमा आजियटाको ८० प्रतिशत लगानी छ भने २० प्रतिशत नेपाली (सुनिभेरा क्यापिटल भेन्चर प्रा.लि.)को छ । एक्जियाटाले शेयर बिक्री गरेर बाहिरिने निर्णय गरेसँगै बजारमा एनसेलको चासो बढेको छ । 

अहिले एनसेल एक्जियाटा लिमिटेड नाम रहेको यो कम्पनीलाई दिएको दूरसञ्चार सेवाको लाइसेन्सको अवधि जम्मा पाँच बर्ष मात्रै बाँकी रहेको छ । पाँच बर्षपछि यो कम्पनी सरकारी स्वामित्वमा जानेछ । यति छोटो अवधिका लागि एक्जियाटाको शेयर खरीद गर्न लगानीकर्ताहरु तयार हुने संभावना कम भएकाले नयाँ ढंगबाट यसको लाइसेन्स प्रक्रिया हुने संभावना देखिन्छ । 

कोरोना महामारीपछि व्यापार खुम्चिँदै जानुका साथै देशमा ब्यापार व्यवसाय गर्न धेरै खालका चुनौतिहरु थप्पिएपछि एक्जियाटा बाहिरिन खोजेको देखिन्छ ।