काठमाडौं। रसुवा-नुवाकोट पर्यटन समाजको आयोजनामा जेठ २४ गते लाङटाङ ट्रेल रन हुने भएको छ ।
लाङटाङ क्यान्जिन भ्यालीको क्याङजिन गुम्बा ३८४० मिटरबाट सुरु भई १९०० मिटर स्थित स्याफ्रुबेंसीसम्म ट्रेल रन हुन लागेको हो।
३२ किमि लामो दुरीमा हुने प्रतियोगितामा स्वदेशी र विदेशी गरी १ सयभन्दा वढी खेलाडीको सहभागिता रहने पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए।
त्यसमा राष्ट्रिय खेलाडीको सहभागिता खुला गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका विजेताले १ लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले २५ हजार र पाँचौं स्थान हात पार्ने खेलाडीले १५ हजार पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिता आयोजनाका लागि करिव ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । २०७२ को विनाशकारी भूकम्पले निकै प्रभावित बनाएको लाङटाङ क्षेत्रमा पर्यटनलाई पुनर्जीवन दिन र हिमाली दौडलाई विश्व ट्रेल रनको नयाँ गन्तव्य बनाउने उद्देश्य रहेको आयोजक समाजका वरिष्ठ उपाध्यक्ष शिव लामिछानेले बताए ।
प्रतियोगितालाई बागमती प्रदेश पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र रसुवा गोसाइँकुण्ड गाउँपालिकाले सहयोग गर्ने जनाइएको छ ।
प्रतियोगिता आयोजनाका लागि गगनराज न्यौपाने, दिनेश तामाङ र उर्जा तामाङ सदस्य रहेको प्राविधिक टोली बनाइएको जनाइएको छ ।