‘पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता २०८२’ सम्पन्न


धादिङ । धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकमा ‘ पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता – २०८२ ’ सम्पन्न आज भएको छ ।

उक्त प्रतियोगिता नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर -१ को संरक्षणमा र श्री निरञ्जना माध्यमिक विद्यालयको संयोजनमा, मार्पाक सामुदायिक क्लबको आयोजनामा तथा श्री निरञ्जना माध्यमिक विद्यालय एसइई ब्याच २०५६ को सहआयोजना साथै चन्द्र ब.-बुनादेवी अधिकारी अक्षयकोष समिति र सफल कोरियन भाषा सेन्टरको प्रायोजनमा सम्पन्न भएको हो।

पाँचौ संस्करणको प्रतियोगितामा गाउँपालिकाभरिका विद्यालयका कक्षा ५ देखि कक्षा १० सम्मका ८९ जना विद्यार्थीहरू सहभागी भएका थिए ।

उक्त प्रतियोगितामा कुण्डलादेवी माध्यमिक विद्यालयको युनिका श्रेष्ठ लगातार ३ पटक विजेता बनिन् उनले नगद, ट्रफी, मेडल र प्रमाण-पत्र जितिन्, भने निरञ्जना माध्यमिक विद्यालयको अनुस्मा तामाङ द्दितिय हुँदै नगद, ट्रफी, मेडल र प्रमाण-पत्र जितिन्।

त्यस्तै, चौतारा माध्यमिक विद्यालयको सलिना सुनार तृतिय हुँदै नगद, ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गरिन्, भने चौथो हुन सफल कुण्डलादेवी माध्यमिक विद्यालयकै उर्वशी श्रेष्ठले नगद र प्रमाण-पत्र प्राप्त गरिन्।

यसैगरी, पाँचौ स्थान प्राप्त गर्ने निमार्चाक आधारभूत विद्यालयको पुर्णिमा सिंखडा, मंगलादेवी माध्यमिक विद्यालयको कृष्मा थापा मगर र कुण्डलादेवी माध्यमिक विद्यालयको पवन तामाङले नगद तथा प्रमाण-पत्र प्राप्त गरेका छन् ।

यस्तै, छैटौँ हुने निरञ्जना माध्यमिक विद्यालयको दिपशिखा थापा, चौतारा माध्यमिक विद्यालयको लुकाश वाईवा, महेन्द्र बाराही माध्यमिक विद्यालयको मन्दिरा दुरेली र मार्पाक पोखरा आधारभूत विद्यालयको जनक तामाङले आकर्षक उपहारसहित नगद र प्रमाण-पत्र प्राप्त गरेका छन्, भने बाँकी सम्पूर्ण विद्यार्थीहरूले सान्त्वना स्वरूप सान्त्वना पुरस्कार र प्रमाण-पत्र प्राप्त गरेका छन् ।

कार्यक्रम संयोजक तथा मार्पाक सामुदायिक क्लबका महासचिव काजिराम अधिकारीका अनुसार यस प्रतियोगिताले विद्यार्थीहरूको सृजनात्मक क्षमता अभिवृद्धि गर्ने तथा नेपाली भाषाको शुद्ध लेखन साथै सुन्दर नेपाली र अग्रेजी लेखन अभ्यासमा टेवा पुर्‍याउने उद्देश्य राखि हरेक वर्ष आयोजना गरिरहेको बताए ।

त्यसैगरी, उक्त प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर-१ का वडाध्यक्ष ठाकुर गुरुङ, दिब्य दर्शन टेलिभिजनका प्रबन्ध निर्देशक उत्तम अधिकारी, नेत्रावती डबजोङ्ग गाउँपालिका शिक्षा शाखा प्रमुख शुशिला ड्याङ्जो, चन्द्र ब.-बुनादेवी अधिकारी अक्षयकोषका अध्यक्ष लक्ष्मी अधिकारी, निरञ्जना व्यवस्थापन समितिका अध्यक्ष डोल बहादुर अधिकारी, नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर -१ का सदस्य राम बहादुर तामाङ, नेत्रावती डबजोङ्ग गाउँपालिका शिक्षा शाखा सहायक डोलमाया तामाङ, कुण्डलादेवी माध्यमिक विद्यालयको प्रधानाध्यापक अमृतमान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

उक्त प्रतियोगिताको टि.भि. पार्टनरमा दिब्य दर्शन टेलिभिजन, रेडियो पार्टनरमा निलकण्ठ एफएम, अनलाइन मिडिया पार्टनरहरुमा जन अपडेट, भिजन न्यूज नेपाल, धादिङ सञ्चार र गुल्मी बुलेटिन रहेका थिए, भने प्रिन्टिङ सपोर्टमा न्यू जूम (New Zoom) फोटो स्टुडियो म्हेपी रहेको थियो।