
संघका सिइओ राजेन्द्र कुमार राउतले लामो समयदेखि रसियामा श्रम स्वीकृति बन्द अवस्थामा रहेको भन्दै तत्काल त्यसलाई खुला गर्न मन्त्री समक्ष अनुरोध गर्नुभयो । जवाफमा मन्त्री भण्डारीले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आफू सकारात्मक रहेकोले कहाँ के भएर रोकिरहेको हो पुनः आवश्यक पहल गर्ने बताउनुभएको छ ।
सिइओ राउतले तत्कालिन अवस्थालाई ध्यानमा राखी नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयमा पुनरावलोकनका लागि पहल गरिदिई श्रम स्वीकृति कार्यलाई तत्काल सुचारु गरिदिन अनुरोध गर्नुभएको थियो ।
वैदेशिक रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दा युद्धरत देश रुसमा सेनामा सहभागी हुन सक्ने सम्भावना रहेको र सोबाट सिर्जना हुन सक्ने मानवीय जोखिम रहेको भन्दै २०८० पुस १९ मा वैदेशिक रोजगार विभागले रुसका लागि श्रम स्वीकृति दिन रोकेको थियो । यस सम्बन्धमा संघले पटक पटक श्रम तथा परराष्ट्र मन्त्रालयको समेत ध्यानाकर्षण गराउँदै आएको छ ।
यस्तै भेटका क्रममा पछिल्लो समय रोमनिया, क्रोयसिया लगायतका यूरोपेली मुलुकमा आकर्षक काम र तलवको प्रलोभन देखाइ ठगी गर्ने र उनीहरुलाई अलपत्र पार्ने गरेको विषयमा पनि मन्त्री भण्डारीको ध्यानाकर्षण गराइएको थियो ।