
काठमाडौँ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आफ्नो ३४औं स्थापना दिवसका अवसरमा कृषि अनुसन्धानका क्षेत्रमा हासिल गरेका उपलब्धिहरू, हालको संरचनागत अवस्था, नयाँ सिफारिस जात तथा प्रविधिहरू र आगामी रणनीतिक योजना सार्वजनिक गरेको छ।
वि.सं. २०४८ मा ‘नेपाल कृषि अनुसन्धान परिषद् ऐन २०४८’ अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान, नीति निर्माण सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत एक स्वायत्त सरकारी निकाय हो ।
अभ्यास, अनुसन्धान र विकासमा ३४ वर्ष
नार्कले विगत ३४ वर्षको अवधिमा नेपाली कृषि प्रणालीलाई प्रविधिमैत्री, उत्पादनमुखी र रोगसहनशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
परिषद्का अनुसार, स्थापना यता हालसम्म ८६ प्रकारका बालीका ८३७ उन्नत जातहरू सिफारिस भइसकेका छन् । तीमध्ये २०० जातहरू प्रयोगवाट हटाइसकिएको जनाइएको छ । विशेषगरी धान, मकै, गहुँ जस्ता खाद्य सुरक्षामा केन्द्रित बालीमा उत्पादन वृद्धि उल्लेखनीय रहेको छ । परिषद्का तथ्यांक अनुसार, ३४ वर्षको अवधिमा यी तीन प्रमुख बालीको उत्पादकत्व क्रमशः ५४%, ७८% र १२१%ले वृद्धि भएको छ ।
नयाँ सिफारिस जातहरू: उन्नत बिउको बहार
हालै परिषद्का सिफारिस भएका जातहरूमा:
- स्याउका स्टार क्रिम्सन,
- ब्राईट एन अर्ली,
- एभोकाड़ोका ह्यास,
- मेकाडेमिया नटका मालेपाटन जात, सुन्तलाका अगौटे जात,
- धानका रोग प्रतिरोधी बायोटेक जातहरू (जस्तै MASKhumal 4-6, MASKhumal 4-10),
- गहुँको बायोफोर्टिफाइड जात,
- स्याउको टप रेड जात,
- राइयो, भन्टा, आलु, कफी, काउली, घाँस, बदाम, तथा स्थानीय धानका जातहरू समावेश छन् ।
यिनै सिफारिस जातहरूले नेपालको विविध भौगोलिक क्षेत्र अनुसार उब्जनी क्षमता वृद्धि, रोग प्रतिरोध, सघन खेती प्रणाली र आयात प्रतिस्थापनमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रविधि विकास : कृषकमैत्री प्रविधिको विस्तार
नार्कले वाली विज्ञान, बागवानी, मत्स्यपालन, पशुपालन, यान्त्रीकरण र जैविक प्रविधिका क्षेत्रमा समेत थुप्रै नयाँ प्रविधि विकास गरेको छ ।
- मकैको बीउमा सूक्ष्मतत्व लेपन प्रविधि,
- भटमासबाट पोषणयुक्त सस्तो मासुका वैकल्पिक उत्पादन,
- माछा उत्पादन वृद्धिका लागि ब्याक्टेरियल कन्सोर्टिया प्रयोग,
- गाईभैंसीमा बाँझोपन नियन्त्रण तथा स्याउको रुटस्टक उत्पादन प्रविधि उल्लेखनीय छन् ।
त्यस्तै, मकै र तरकारी खेतमा झार गोड्ने म्यानुअल बाइसाइकल वीडर, चारपांग्रे ट्रयाक्टरबाट चल्ने कल्टिभेटर, सुन्तला ग्रेडिङ मेसिन, मेकाडेमिया नट फुटाउने हाते मेसिन, र भुरा माछा ढुवानीमा मृत्युदर घटाउने प्रविधिहरूले किसानलाई झन प्राविधिक रुपमा सक्षम बनाउने विश्वास गरिएको छ ।
जैविक विविधता संरक्षणमा केन्द्रित
नार्कले ३०० भन्दा बढी बालीका १८,००० भन्दा बढी जात संकलन गरेको छ। यीमध्ये ६६६ जातहरू दीर्घकालीन संरक्षणमा राखिएको छ भने बालीहरूको पासपोर्ट डाटामा समेत प्राविधिक इन्ट्री गरिँदै आएको छ । स्थानीय र दुर्लभ जातहरूलाई प्रबर्द्धन गर्न विविधता ब्लक स्थापना गरिएका छन् ।
प्रविधि हस्तान्तरणका प्रयास : किसानमै केन्द्रित सेवा
कृषकहरूसँग प्रत्यक्ष सम्पर्क कायम गर्न नार्कले टेलिभिजन कार्यक्रम, मोबाइल एप्स, एसएमएस सेवा, किसान कल सेन्टर (११३५), कृषि-मौसम बुलेटिन, तालिम तथा गोष्ठीमार्फत प्रविधि हस्तान्तरणलाई तीव्र बनाएको छ । हरेक सोमबार नेपाल टेलिभिजन प्लसमार्फत “कृषि अनुसन्धान र प्रविधि” नामक कार्यक्रम प्रसारण गरिन्छ ।
यसैगरी, १०,००० कृषक तथा सरोकारवालाहरुलाई प्रविधिजन्य एसएमएस सेवा, डिजिटल माटो नक्सा अद्यावधिक तथा माटो स्वास्थ्य प्रमाणपत्र वितरण लगायत कार्यक्रम पनि नियमित सञ्चालन भइरहेका छन् ।
मानव संसाधनको संकट
नार्कमा हाल १८२३ दरबन्दीमध्ये ४८% पद रिक्त रहेको छ। वैज्ञानिक अधिकृतका लागि ४१३ पदमध्ये ५७% खाली छन् भने प्राविधिक अधिकृतका ३३३ मध्ये ४५% पद रिक्त रहेका छन् । जनशक्ति अभावका बाबजुद नार्कले ६३ वटा कार्यालयमार्फत अनुसन्धान कार्यक्रम सन्चालन गर्दै आएको छ, जसमा सरकारबाट ९७% र दातृ निकायबाट ३% आर्थिक स्रोत प्राप्त भइरहेको छ ।
१६ औं योजनामा नार्कको रणनीति : पूर्ण समन्वयकारी निकाय बन्ने तयारी
नार्कले हालै स्वीकृत १६ औं पञ्चवर्षीय योजनामा कृषि अनुसन्धान, शिक्षा, प्रविधि हस्तान्तरण र जैविक विविधता संरक्षणलाई संस्थागतरूपमा सुदृढ बनाउने रणनीति अघि सारेको छ । योजनामा नीति तथा संरचना पुनर्संरचना, स्थानीय ज्ञान र जैविक सम्पदाको आधुनिकीकरण, निर्यात लक्षित अनुसन्धान, तथा ‘डिजिटल नार्क’ अभियान प्रमुख छन् ।
कृषिमा आत्मनिर्भरता र निर्यात अभिवृद्धिको सम्भावना
वर्तमानमा नेपालमा धान, मकै र गहुँजस्ता बालीहरूको उत्पादन किसानको खेतमा उपलब्ध भएका प्रविधिहरूको पूर्ण उपयोगबाट अझै २४% (धान), ९३% (मकै) र १०% (गहुँ) ले बढ्न सक्ने नार्कको विश्लेषण छ । यसले आयात प्रतिस्थापन र कृषि आत्मनिर्भरता तर्फ मुलुकलाई अग्रसर गराउने छ ।