४ अर्ब ५० करोड रुपैयाँबराबरको चिया निर्यात


ललितपुर। नेपालमा पछिल्लो समयमा चियाको उत्पादन बढ्दै गएको पाइएको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राष्ट्रिय चिया दिवसको पूर्व सन्ध्यामा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा पछिल्लो समयमा चियाको उत्पादन बढ्दै गएको देखाएको हो ।

सार्वजनिक तथ्यांकअनुसार गत् आर्थिक बर्ष २०८०/८१ मा नेपालमा २ करोड ७० लाख किलो चिया उत्पादन भएको छ । अघिल्लो आर्थिक बर्ष २०७९/८० मा भने २ करोड ६४ लाख किलो उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा २ करोड ६३ लाख किलो उत्पादन भएको थियो । पछिल्लो सात वर्षको अवधीमा आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्ममा भने चियाको उत्पादन घटेको थियो।

भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार गत् आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ६३ करोड रुपैयाँबराबरको १ करोड ६५ लाख किलो चिया नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको थियो । चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्मको अवस्थामा नेपालले ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेको छ।

चालु आर्थिक वर्ष ४ अर्ब ५० करोड रुपैयाँबराबरको चिया निर्यात हुने बोर्डको भनाइ छ।

नेपालमा १५ हजार २०३ जना चिया किसान चिया खेतीमा आवद्ध छन् । यस्तै १ सय ७१ वटा टी स्टेट र साना मझौला गरी १ सय २० वटा चिया प्रशोधन केन्द्रहरु सञ्चालनमा छन् । यस्ता टी स्टेट र प्रशोधन केन्द्रमार्फत करिब ६० हजार नेपालीले रोजगारी प्राप्त गरेका छन् ।

नेपालमा उत्पादन भएको चिया सर्वोत्कृष्ट गुणस्तरको रहेको पछिल्लो समयमा विभिन्न अन्तर्राष्ट्रिय निकायमा भएको प्रतिस्पर्धाले पुष्टि गरेको छ।

२९ औं राष्ट्रिय चिया दिवस मनाउँदैं :
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २०८२ बैशाख १५ गते “स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार” भन्ने मूल नाराका साथ २९ औं चिया दिवस मनाउने भएको छ,

कृषिमन्त्री रामनाथ अधिकारीको आतिथ्यमा कृषि विभागको हलमा आयोजना गरिएको कार्यक्रममा विभिन्न जिल्लामा उत्पादन भएका चियाको स्वाद समेत लिन सकिने छ।

नेपालमा चिया उत्पादन तथा निर्यात प्रवर्द्धनका लागि ५० लाख सहयोग

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चिया उत्पादन तथा निर्यात प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

बोर्डले चिया उत्पादन बढाउने तथा निर्यात प्रवर्द्धनमा टेवा पु-याउने उद्देश्यले चिया व्यवसायीहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

बोर्डका अनुसार २०८०/८१ आर्थिक वर्षका लागि चालु कार्यक्रम अन्तर्गत चिया व्यवसायी संघलाई ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ। सहयोग रकम चिया व्यापार तथा निर्यात प्रवर्द्धनमा प्रयोग गरिनेछ।

त्यसैगरी, हालै सार्वजनिक गरिएको तथ्यांकअनुसार नेपालमा चिया उत्पादन तथा निर्यातमा वृद्धि देखिएको छ। आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्मको तथ्यांक अनुसार चिया निर्यातमा बृद्धि भए पनि आयातमा पनि केही वृद्धि देखिएको छ।

२०७८/७९ मा नेपालको चिया निर्यात १५,९६,०४३ किलो पुगेको छ भने निर्यात मूल्य ६५,४९१ हजार रुपैयाँ पुगेको छ।

उता चिया आयात ३५,७५०० किलो रहेको छ र यसको मूल्य ५६,०२७९ हजार रुपैयाँ रहेको छ।

बोर्डका कार्यकारी निर्देशकका अनुसार, चिया उत्पादन र गुणस्तर सुधार गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको पहिचान बलियो बनाउने अभियानमा यो सहयोग महत्वपूर्ण हुनेछ।

नेपालमा चिया उत्पादनको प्रवृत्ति र व्यापारको तथ्यांकसहितको प्रतिवेदन सार्वजनिक गर्दै बोर्डले चिया उद्योगको समृद्धि तथा निर्यात वृद्धिमा थप योगदान पु-याउने लक्ष्य लिएको छ।