
ललितपुर । इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कद्वारा प्रकाशित पुस्तक ‘इम्बार्क रिसर्च रिभ्युः दिगो नेपालको बाटो–दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’ को आइतबार एक कार्यक्रमबीच औपचारिक विमोचन गरिएको छ।
पुस्तकमा नेपालमा सक्रिय व्यवसायहरूमाथि आधारित एघार वटा केस स्टडी समेटिएको छ, जसले आर्थिक समावेशीकरण र दिगोपनका क्षेत्रमा सरकार, निजी क्षेत्र र शिक्षाविद्हरूबीच सहकार्यको आवश्यकता र सम्भावनालाई उजागर गरेको छ।
कार्यक्रमको अध्यक्षता इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले गर्नुभएको थियो। उहाँले स्वागत मन्तव्य राख्दै शिक्षा र अनुसन्धानमार्फत दिगो नेपालको निर्माणमा कलेजको प्रतिबद्धता दोहोर्याउँदै युनिभर्सिटी अफ रोहम्प्टनसँगको अन्तर्राष्ट्रिय सहकार्यले ल्याएका नयाँ नीति र कार्यक्रमहरूको महत्त्वबारे प्रकाश पार्नुभयो।
रोहम्प्टन विश्वविद्यालयका उपकुलपति प्रा.डा. जीन नोएल एजिन्गार्डले पनि कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँले अनुसन्धान र नीतिनिर्माणमा अन्तर्राष्ट्रिय साझेदारी अपरिहार्य रहेको बताउँदै, साझा प्रयासमार्फत मात्र वित्तीय समावेशीकरण र स्थिरताको चुनौती समाधान गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा आयोजित बहस सत्रमा वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेल, सेबनका कार्यकारी निर्देशक डा. नबराज अधिकारी र काठमाडौँ फिनटेकका संस्थापक डा. सन्जिब सुब्बाले डिजिटल प्रविधि र नवप्रवर्तनमार्फत वित्तीय पहुँच विस्तार र दिगोपन सुनिश्चित गर्न आवश्यक नीतिगत सुधारहरूबारे विस्तृत छलफल गर्नुभयो। बहस सत्रको सञ्चालन इम्बार्क कलेजका प्रिन्सिपल डा. स्टिफन ड्राइभरले गर्नुभएको थियो।
समापन मन्तव्यमा डा. ड्राइभरले शिक्षा, अनुसन्धान र नीति निर्माणबीचको सहकार्यले मात्र दिगो समाधान सम्भव भएको उल्लेख गर्दै सबै पक्षलाई आर्थिक समावेशीकरण र स्थिरताको लागि साझा प्रयास गर्न आह्वान गर्नुभयो।
कार्यक्रमको अवसरमा पुस्तकमा समावेश एघार वटा केस स्टडीका अनुसन्धानकर्ताहरूलाई प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो।
इम्बार्क कलेजले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृतिमा युनिभर्सिटी अफ रोहम्प्टनसँगको सहकार्यमा सञ्चालित बीएस्सी बिजनेस म्यानेजमेन्ट र एमबीए कार्यक्रममार्फत अनुसन्धान र नीति निर्माणको अनुभवलाई समेट्दै दिगो आर्थिक विकासमा योगदान पुर्याइरहेको जनाएको छ।
ललितपुरस्थित पुल्चोकमा अवस्थित कलेजले जनवरी २०२५ देखि औपचारिक रूपमा नयाँ शैक्षिक सत्रको सुरुवात गर्दैछ।