जागरण यात्रामा विद्यार्थी र पत्रकारहरुको ऐक्यबद्धता


खाद्यका लागि कृषि अभियान यतिखेर जैविक कृषि जागरण यात्रा पाँचौँ दिनमा छ।

पाँचौँ दिनको जागरण यात्रामा वन विज्ञान अध्ययनरत विद्यार्थी र हेटौँडामा रहेर पत्रकारिता गरिरहनु भएका पत्रकारहरूसँग छलफल गरेको छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको वन संकायको भवनमा भएको छलफलमा वन र कृषिको अन्तर्सम्बन्ध, राजनीतिक रूपमा वन र कृषिको विभाजनले ल्याएको समस्या, कृषिमा प्रयोग भएको रासायनिक मल तथा विषादीको अन्धाधुन्ध प्रयोगले जनस्वास्थ्यमा पारेको असर, वनपैदावरको संरक्षण तथा व्यवस्थित उपयोग जस्ता विषयहरूमा छलफल भएको थियो।

वन विज्ञान अध्ययनरत विद्यार्थीहरूले जैविक खेतीको उत्पादन क्षमता यसको विस्तारका चुनौती लगायतका विषयमा प्रश्न उठाएका थिए भने जवाफमा अभियानले संक्रमणकालीन प्रविधिको प्रयोगसँगै जो कोहीले पनि जैविक खेती गर्न सक्ने र त्यसबाट उत्पादकत्वमा ह्रास नआउने बताएको थियो।

यसैगरी मोफसलबाट नेपालको राष्ट्रिय तथा स्थानीय तहका सवालहरु लाइ पत्रकारिता मार्फत नागरिकलाई सुसुचित गर्दै आएका हेटौंडाका पत्रकारहरू संग जागरण यात्राको टोलीले छलफल गरेको छ।

जैविक कृषि जागरण यात्राको बारेमा जानकारी दिन, खाना र खेतीपातीका सवालहरूलाई स्थानीयकरण गर्न अभियानले विभिन्न क्षेत्रमा पत्रकारहरूसँग भेटघाट गर्दै आइरहेको छ।

छलफलमा पत्रकारहरूलाई अभियान र जागरण यात्राको बारेमा जानकारी गराइएको थियो। कार्यक्रममा पत्रकारहरूले कृषि क्षेत्रका समसामयिक सवालहरु र जागरण यात्राको बारेमा जिज्ञासा राखेका थिए।

यात्राको छैठौँ दिन अभियानले जितपुर सिमरा उपमहानगरपालिका जनप्रतिनिधि, वीरगञ्ज कृषि औजार कारखानाका वैज्ञानिक र वीरगञ्जका पत्रकार तथा नागरिक समूहका अगुवासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।