
काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्ड उल्लंघन गरेको भन्दै तीन वटा विकास बैंक र दुई वटा फाइनान्स कम्पनीमाथि कारबाही गरेको छ।
चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा राष्ट्र बैंकले पोखरा फाइनान्स, जानकी फाइनान्स, मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंकमाथि विभिन्न प्रकृतिका कारबाही गरेको हो।
पोखरा फाइनान्स र जानकी फाइनान्स कारबाही
राष्ट्र बैंकले पोखरा फाइनान्स र जानकी फाइनान्सलाई शीघ्र सुधारात्मक कारबाही गर्दै नयाँ निक्षेप खाता खोल्न, कर्जा लगानी गर्न, नयाँ शाखा विस्तार तथा कर्मचारी नियुक्ति रोक लगाएको छ।
यी संस्थाले न्यूनतम पुँजीकोष अनुपात तोकिएको सीमा भन्दा ५०% भन्दा कम राखेको तथा निष्क्रिय कर्जाको अनुपात अत्यधिक रहेको जनाइएको छ। पोखरा फाइनान्सको निष्क्रिय कर्जा ३३.४४% पुगेको छ।
पोखरा फाइनान्सले नियामकीय मौज्दात रकम कायम नगरेको भन्दै उसलाई रु. ४६,७१८.२३ जरिवाना गरिएको छ। साथै, तत्कालीन प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङलाई आफ्नो जिम्मेवारी समुचित रूपमा निर्वाह नगरेको ठहर गर्दै रु. ५ लाख जरिवाना गरिएको छ।
त्यस्तै, जानकी फाइनान्सले समेत पुँजीकोष मापदण्ड उल्लंघन गरेकाले विनियमावली, २०७४ अनुसार शीघ्र सुधारात्मक कारबाहीमा परेको छ।
मुक्तिनाथ विकास बैंकका सञ्चालक समिति अध्यक्ष भरतराज ढकाललाई सचेत गराइएको
अर्कोतर्फ, मुक्तिनाथ विकास बैंकका सञ्चालक समिति अध्यक्ष भरतराज ढकालले आन्तरिक भवन निर्माण समितिमा समावेश भई एकीकृत निर्देशन उल्लंघन गरेको पाइएपछि उनलाई सचेत गराइएको छ।
नारायणी डेभलपमेन्ट बैंकले तोकिएको पुँजी र पुँजीकोष अनुपात कायम नगरेको
नारायणी डेभलपमेन्ट बैंकले तोकिएको पुँजी र पुँजीकोष अनुपात कायम नगरेको तथा राष्ट्र बैंकका निर्देशन बारम्बार उल्लंघन गरेको पाइएपछि सञ्चालक समितिलाई लिखित आदेश दिइएको छ। २०७७ सालमा समस्याग्रस्त सूचीबाट हटाउँदा तोकिएका शर्तहरू पालना नगरेको, निक्षेप संकलनमा सीमा नाघेको तथा कर्जा सीमा उल्लंघन गरेको उल्लेख छ।
सालपा विकास बैंकले अझै पनि न्यूनतम चुक्ता पुँजी कायम नगरेको
सालपा विकास बैंकले अझै पनि न्यूनतम चुक्ता पुँजी कायम नगरेको तथा राष्ट्र बैंकको निर्देशन पालना नगरेको भन्दै सञ्चालक समितिलाई नसिहत दिइएको छ।