May 12, 2025

कृषि विग्रिएकोमा सर्वत्र चिन्ता, तेस्रो दिन सिन्धुली जिल्लामा


सिन्धुली, तेस्रो दिन सिन्धुली जिल्ला भित्र रहेका विभिन्न पालिकाका जनप्रतिनिधि, विद्यार्थी, किसान समूहहरूसँग छलफल गर्दै सम्पन्न भयो।

मरिण गाउँपालिका वडा नं. ३ भालुमारामा रहेको महिला कृषक समूह, मरिण गाउँपालिकाका जनप्रतिनिधि, प्राकृतिक स्रोत व्यवस्थापन कलेज मरिणका प्राध्यापक र कृषि विद्यार्थी, हरिहरपुरगढी गाउँपालिकाका कृषि प्राविधिक, र बागमती गाउँपालिका मकवानपुरका किसानसँग छलफल सम्पन्न भएको हो।

मरिण ३ भालु मारेका महिला किसानहरूले आफ्नो क्षेत्रमा चुरेको जमिन कटान, खाना र खेतीपाती गर्न पानीको व्यापक अभाव, तथा खेतीयोग्य जमिनको क्षतिले जीविकोपार्जनमा ठूलो चुनौती थपिएकोमा चिन्ता जाहेर गरे।

यस्तै, मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानल लाइ अभियान संयोजक उद्वव अधिकारीले जैविक कृषि प्रवर्द्धनमा स्थानीय सरकारको दायित्व सहितको सुझाव पत्र हस्तान्तरण गरिएको थियो। सुझाव पत्र ग्रहण गर्दै अध्यक्ष मोक्तानले गाउँपालिकाको आफ्नै प्रयासमा वडा नं. २ मा लघुवित्त र किसान समूहको सहकार्यमा नमुना जैविक खेती सुरु गरेको बताउनु भयो।

र अब जनस्वास्थ्य, माटो तथा खेती बचाउन जैविक कृषिको विकल्प नरहेको बताउनु भयो । जैविक कृषि जागरण यात्रालाई स्वागत एवं शुभकामना समेत व्यक्त गर्नुभएको थियो।

उक्त कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू लगाएत सेवाग्राहीहरूको बाक्लो उपस्थिती रहेको थियो।

यसैगरी सिन्धुलीकै हरिहरपुरगढी गाउँपालिकाले १० विघा जमिनमा जैविक बागवानी तथा १ विघामा रामपुर हाइब्रिडको बीउ उत्पादन गरिरहेको कृषि प्राविधिक प्रवेश देवकोटाले जानकारी दिनुभयो। अर्को एक कार्यक्रममा प्राकृतिक स्रोत व्यवस्थापन कलेज मरिणका करिव ५० जना स्नातक अध्ययनरत विद्यार्थीहरूसँग भएको छलफलमा कृषिको उत्पादन प्रणाली, जैविक उत्पादन प्रक्रिया र यसको व्यवस्थापन तथा समसामयिक उत्पादनका चुनौती लगाएतका विषयहरू समावेश भएका थिए।

तेश्रो दिनको यात्रा मकवानपुर जिल्लको वागमति गाउँपालिकामा रहेको सूर्य माध्यमिक विद्यालयले “पढ्दै कमाउँदै” कार्यक्रमअन्तर्गत ३ विघामा गरिरहेको खेती र स्थानीय किसान समुदाय संग छलफल गर्दै समापन भएको थियो।