Apr 28, 2025

नेपाल चिकित्सक संघद्धारा अस्पतालको सेवा ठप्प पर्नेसम्मका आन्दोलनको घोषणाः


काठमाडौं । आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयन गराउनुपर्ने माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ।

बुधबार संघको कार्यालयमा पत्रकार सम्मेलन गरी संघले बिहिबार बिहान काठमाडौंमा स्वास्थ्य मन्त्रालय र जिल्ला जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम राखेको जानकारी दिएको हो।

’देशभरका सम्पूर्ण चिकित्सकहरूलाई मिति ११ गते बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरुलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आह्वान गर्दछौं,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले भने।

२४ घण्टाभित्र उनीहरुका माग सम्बोधन नगरिए १२ गते शुक्रबार देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने चेतावनी संघले दिएको छ।

‘चिकित्सकहरुको आत्मसम्मानको यस आन्दोलनलाई सफल पार्न देशभरिका सम्पूर्ण नागरिक नागरिक समाज, पेशागत संघ सङगठन, विभिन्न मेडिकल सोसाइटीहरु बुद्धिजिवी पत्रकार लगायत सम्पूर्णमा नेपाल चिकित्सक संघ हार्दिक आग्रह गर्दछ।’ विज्ञप्तिमा भनिएको छ।

नेपाल चिकित्सक संघको विस्तारित कार्यसमिति र आन्दोलनरत चिकित्सकहरूको छलफल भइ विगत २८ दिनदेखि चिकित्सकहरुको माग सम्बोधन गर्न राज्यले उदासीनता देखाएकाले उक्त निर्णय गरिएको संघले बताएको छ।

चिकित्सा शिक्षा आयोगको १६ औं पूर्ण बैठकले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय ३७ रुपैयाँ दिने निर्णय गरेको थियो । उक्त निर्णय भूतप्रभावी नहुने भन्दै निजी मेडिकल कलेजले कार्यान्वयन गर्न आनाकानी गरिरहेका छन्।

पटक–पटक समाधानको पहलस्वरुप चैत ३१ गते ७२ घण्टे अल्टिमेटम दिँदा पनि राज्यले ठोस कदम नचालेको प्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।

आन्दोलन निर्णय कार्यान्वयन नगर्ने निजी मेडिकल कलेजसँग नभइ कार्यान्वयन नगराउने राज्यसँग रहेको डा. कार्कीको भनाइ छ।