May 1, 2025

‘जैविक कृषि जागरण यात्रा’ एक महिने हुने


काठमाडौं । खाद्य लागि कृषि अभियानले ‘जैविक कृषि जागरण यात्रा-२०८२’ गर्ने भएको छ।

आज राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी १ महिना सो ‘जैविक कृषि जागरण यात्रा’ गर्नेबारे जानकारी गराइएको हो।

पछिल्लो समय खाना, खेतीपाती र वातावरण सबैभन्दा ठूलो संकटमा छन् । रासायनिक मल र विषादीको प्रयोग निरन्तर बढ्दो छ । यसले माटो र मानव स्वास्थ्यलाई थप संकटग्रस्त बनाइरहेको अभियानकर्ताले बताएका छन् ।

जलवायु परिवर्तनसँगै माटो मरिरहेको, पानी चक्र बिग्रँदै गएको अवस्था छ। परिणामतः एकातिर हाम्रो स्थानीय उत्पादन आवश्यक रूपमा बढ्न सकेको छैन भने अर्कातिर हानिकारक आयातित प्रशोधित अल्पपोषक खानामा भर पर्नु परिरहेको कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताए। ‘आम किसानको सरोकार सम्बोधन गर्ने जिम्मेवारी लिएका सरकार र सरोकार समूहहरू यसप्रति उदासीन देखिन्छन्’, अधिकारीले भने, ‘कृषि क्षेत्रको उन्नतिका लागि दिशानिर्देश गर्ने कृषि नीति र संघीय ऐन अहिलेसम्म बन्न सकेका छैनन्।’

खाना र उत्पादक किसानको सुरक्षा खाद्य अधिकार र सम्प्रभुता ऐन नियम बने पनि कार्यान्वयनमा आउन सकेका छैनन्। सरकारी अधिकारीहरूले खाद्य सुरक्षा तथा बीउ संरक्षण र विषादी नियन्त्रण सरकारको प्राथमिकता हुने बताए पनि दलाललाई फाइदा पुग्ने खालको बेथितिबाट यस्ता प्राथमिकताहरू कार्यान्वयन हुनेमा विश्वास गर्ने आधार नदेखिने उनीहरूको भनाई छ।

जागरण यात्रामा हुने सबै भेटघाट र संवादलाई, स्वस्थ र पोषणयुक्त खाना प्राप्त गर्ने नैसर्गिक अधिकारको सुनिश्चितता, कृषि, खाद्य, भूमि, जलवायु लगायत जीवनका आधारभूत पक्षमा किसान समुदाय विशेषगरी महिला, दलित, आदिवासी जनजाति र विपन्न समूहको न्यायसंगत हक स्थापित गर्ने र सरोकारवालाहरूलाई जवाफदेही बनाउन एक सशक्त अवसरको रूपमा लिने अभियानकर्ताहरुको दाबी छ ।