ईकोनोमिक खबर, संवाददाता। धितोपत्र बजारमा यस साता उत्साहजनक वृद्धि भयो। नेप्से परिसूचक ४३ दशमलव ५९ बिन्दुले वृद्धि भयो। वैशाखको पहिलो हप्तादेखि बजार वृद्धि हुने क्रम शुरू भएको छ।
यस बर्षको पहिलो सातामा चार दिन कारोबार भयो। सोमबार बजार एक हजार १८८।७१ बिन्दुमा पुग्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन बजार बढेर एक हजार २३२।३० बिन्दुमा पुगेको छ। बैंक र बीमा उपसमूहको शेयर वृद्धि हुँदा बजारमा सकारात्मक प्रभाव परेको छ।
नयाँ वर्षमा नेपाल सरकारले शेयर कारोबारमा स्थायी लेखा नम्बर(प्यान) समेत लागू गरेको छ। रु ५ लाखभन्दा बढीको शेयर कारोबारमा प्यान लागू हुने व्यवस्था यसै महिनाबाट लागू भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता बजारमा वाणिज्य बैंक समूहकै बोलवाला रह्यो।
एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ। यस्तै कुमारी बैंक, प्रभु बैंक, एनआइसी एसिया बैंक, नेपाल बैंक, सिभिल बैंक, एनसिसी बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र नेको इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ।
स्टक एक्सचेन्जका अनुसार बजार पूँजीकरणमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड पछि वाणिज्य बैंककै बोलावाल रह्यो। यस साता दुई कम्पनीको शेयर सूचीकृत भए। स्टकमा सिनर्र्जी फाइनान्स कम्पनीको ३ लाख ८० हजार ९३८ कित्ता हकप्रद शेयर र नेपाल इन्भेस्टमेन्ट बैंकको १ करोड ९४ लाख ४३ हजार ८२ कित्ता शेयर लाभांश सूचीकृत भएका छन्।।