May 1, 2025

सान्भि इनर्जीको आईपीओ आजदेखि


सान्भि इनर्जी लिमिटेडले आज वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले इलाम जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो।

कम्पनीले इलाम जिल्लाका स्थानीयलाई ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको छ। ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नं. १० (साविकको गोदक गा.वि.स. का १ देखि ८ नं. सम्मका वडाहरु), माईजोगमाई गाउँपालिका वडा नं. १ (साविकको नयाँ बजार गा.वि.स.का १-४, ६-१ नं. वडाहरु) माईजोगमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स. का १ देखि ५ नं. सम्मका वडाहरु तथा नयाँबजार गा.वि.स. को वडा नं. ५), सूर्योदय नगरपालिका वडा नं. १० (साविकको फिक्कल गा.वि.स. का ६ देखि ४ नं. सम्मका वडाहरु ) तथा सूर्योदय नगरपालिका वडा नं. ११ (साविकको पञ्चकन्या गा.वि.स. का २, ६, ८ नं.वडा) का स्थानीयले यसमा आवेदन दिन सक्ने छन् ।

यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा वैशाख १९ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ ३ गतेसम्म आवेदन दिन सक्ने छन् ।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा वैशाख १९ गतेसम्म आवेदन दिन सकिने छ ।

नेपाल धितोपत्र बोर्डले चैत्र ११ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३७ करोड ९० लाख बराबरको ३७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको हो। शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंग बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले इलाममा ७.६ मेगावाट क्षमताको जोगमाइ खोला आयोजनाबाट २०७४ वैशाख १८ गतेदेखि विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ। त्यस्तै इलाम मै ५.२ मेगावट क्षमताको जोगमाई क्यासकेड आयोजना निर्माण गरिरहेको छ।

यस कम्पनीको अध्यक्ष अनुप आचार्य हुन् भने अन्य संचालकमा भानुभक्त पोखरेल, दिपक बराल, हरिबाबु न्यौपाने, श्रियान पोखरेल, बन्दना पोखरेल, र नारायण प्रसाद पौडेल छन् ।