
राष्ट्रिय सहकारी महासंघले काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा विगत तीन वर्षदेखि सञ्चालन गर्दै आएको ‘डिप्लोमा इन कोअपरेटिभ म्यानेजमेन्ट’ कोर्षको समिक्षा सम्पन्न गरेको छ।
महासंघकी अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा कुसुमका डिन प्रा.डा.विजयी केसी, प्रा.डा.विनोदकृष्ण श्रेष्ठ, सहायक प्राध्यापक रोसी लामिछाने, महासंघका उपाध्यक्ष इन्दिरा पन्त तथा डिवी बस्नेत, महासंघका महाप्रबन्धक सुरेश थापा, वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारी, र तालिम अधिकृत देवी बास्कोटाको उपस्थिति रहेको थियो।
बैठकमा अध्यक्ष मल्लले सहकारी क्षेत्रमा शिक्षा र प्रशिक्षणको अत्यन्त महत्व रहेको उल्लेख गर्दै, यस कोर्षले सहकारी संस्थाहरूमाझ सुशासनको अभ्यास बढाउन मद्दत पुर्याएको छ। यस्ता कार्यक्रमले सहकारीहरूलाई व्यावसायिक, उत्तरदायी र परिणाममुखी बनाउन महत्वपूर्ण योगदान दिएको छु भन्नुभयो।
त्यस्तै, डिन डा. विजयी केसीले सहकारीलाई नेपालको अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा उल्लेख गर्दै, “यदि यस्ता कार्यक्रमलाई सरकारी स्तरबाट समेत सहयोग मिल्यो भने, सहकारी क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सहज हुनेछ, जसले दीर्घकालीन समस्याहरू समाधान गर्न पनि सहयोग पुर्याउनेछ,” भन्नुभयो।
कार्यक्रममा महासंघका महाप्रबन्धक सुरेश थापाले कोर्षको हालसम्मको प्रगति, सिकाइ उपलब्धि, सहभागीहरूको अनुभव र भावी सम्भावनाहरूबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो।
समिक्षा छलफलका क्रममा सहकारी विषयमा छुट्टै मास्टर लेभलको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सम्भावनाबारे गहन छलफल भएको थियोभने आगामी दिनमा महासंघ र काठमाडौं विश्वविद्यालयबिच हुने सहकार्यका विषयमा पनि छलफल भयो।
त्यसैगरी, डिप्लोमा कोर्षलाई अनलाइन माध्यमबाट सञ्चालन गर्न सकिने सम्भावनाबारे समेत विचाqर–विमर्श गरिएको थियो। यद्यपि, कुसुम पक्षबाट अनलाइन माध्यमबाट यस्तो शैक्षिक कार्यक्रम सञ्चालन गर्दा आवश्यक अन्तरक्रियात्मकता, सहभागिता र परिणाममा कमी आउने सम्भावना रहेको भन्दै पूर्णरूपमा अनलाइन मोडेल प्रभावकारी नहुने धारणा व्यक्त गरिएको थियो।
राष्ट्रिय सहकारी महासंघ र कुसुमबीचको यस सहकार्यले नेपाली सहकारी क्षेत्रको दीर्घकालीन विकासमा सशक्त मानवीय पुँजी निर्माण गर्ने उद्देश्य लिएको छ।