
काठमाडौं। नेपाल बैंकर्स संघका अध्यक्ष एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकहरुले ऋण दिँदा विद्युतीय सवारीको आगामी भविष्य के हुने भन्ने चिन्ता रहेको बताएका छन्।
मंगलबार नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपालले आयोजना गरेको नाडा डाइलग २०८१ मा ‘लङ्ग टर्म पोलिसिज् फर अटोमोबाइल सेक्टर’ अन्तर्गत आफ्नो धारणा राख्दै अध्यक्ष कोइरालाले पछिल्ला वर्षमा विद्युतीय सवारीसाधनको क्रेज बढेको र ऋण पनि त्यसमै गइरहेको बताए।
यसमा सरकारको नीति अनुरुप बैंकहरुले राम्रो सहयोग र ऋण प्रवाह गरिरहेको उनले बताए। ऋण प्रवाह गरेअनुरुप प्रतिफलको चासो पनि रहने उनले उल्लेख गरे।
बैंकहरूले हालसम्म विद्युतीय सवारीको लागि एक खर्ब १३ अर्ब ऋण दिएको कोइरालाले बताए।
अब गुणस्तरीय सवारीसाधन भित्र्याउन सरकारले मापदण्ड तोक्नुपर्ने कोइरालाको भनाइ छ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक भीमप्रसाद श्रेष्ठले विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको अवस्थामा यसको लागि पर्याप्त पूर्वाधार, मर्मतको लागि जनशक्ति लगायतमा सरकार र निजी क्षेत्र दुवैले ध्यान दिनुपर्ने धारणा राखे ।
प्रविधिमा आएको परिवर्तनसँगै शिक्षा क्षेत्रमा समेत चुनौती थपिइरहेको भन्दै उनले सरकारले ल्याउने नीतिमा आगामी १०–२० वर्षभित्र कस्तो बनाउने भन्ने अध्ययन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए।