May 4, 2025

नर्सरी व्यवसायी संघको आयोजनामा चैत २८ गतेदेखि ३१ गतेसम्म ‘ दोश्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१ ’ हुने


काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा नर्सरी व्यवसायी संघको आयोजनामा चैत २८ गतेदेखि ३१ गतेसम्म ‘दोश्रो नेशनल हर्टिकल्चर एक्स्पो-२०८१’ हुने भएको छ।

ग्राहकहरुले खोजेका कुरा सजिलै एकै छाना मुनी पाउने र व्यवसायीहरुले आफूले उत्पादन गरेका फलफूललाई बिक्री गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा नर्सरी व्यवसायी संघको आयोजनामा चैत २८ गतेदेखि ३१ गतेसम्म ‘दोश्रो नेशनल हर्टिकल्चर एक्स्पो-२०८१’ हुने भएको छ।

‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार ’ भन्ने नारा सहित हुने एक्स्पोमा यस वर्ष धेरै भन्दा धेरै नर्सरी व्यवसायीहरु समेटेर भव्य बनाउने तयारी भइरहेको संघले बताएको छ।

एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडिबुटी नर्सरीको ७ सय भन्दा बढी प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा बिक्री / वितरणको लागि राखिने छ ।

साथै, मलखाद, अर्गानिक एवं रासायनिक बिषादी, विउ विजन, गमला, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने छ ।

उक्त एक्स्पोमा ७० वटा व्यवसायीक स्टल, ३ वटा फुड स्टल, ८ वटा अफिसियल स्टल तथा प्रतिष्पर्धाको ५ वटा स्टल समेत जम्मा ८६ वटा स्टल रहने नर्सरी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रबिन गौतमले बताए ।

नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञासु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णको लागि यस एक्स्पो बृहत साझा मञ्च हुने संघले जनाएको छ।

यस्तै, एक्स्पोमा कम्तीमा ५१ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै १ करोड २५ लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरिएको नर्सरी व्यवसायी संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले बताए।

त्यसैगरी, एक्स्पोको अवसरमा लामो समयदेखि निरन्तर नर्सरी व्यवसाय गरी यस क्षेत्रको विकासमा टेवा पुर्याउने पुराना व्यवसायीहरु मध्यबाट १ जनालाई ‘दिर्घकालीन क्रियाशिल नर्सरी व्यवसायी सम्मान’ द्वारा सम्मान गरिने छ।

नर्सरीसँग सम्बन्धित वस्तु स्वदेशमै उत्पादन गरी आत्मनिर्भर बनाउन व्यवसायीहरुलाई उत्प्रेरित गर्न नर्सरी व्यवसायी मध्यबाट १ जनालाई ‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान’ द्वारा सम्मान गरिने संघले जनाएको छ।

नेपालको कृषि क्षेत्रको उन्नयनको लागि कलम चलाइ कृषकको आवाज बुलन्द गर्न क्रियाशिल कृषि सञ्चारकर्मीहरु मध्य २ जनालाई दोसल्ला, नगद तथा प्रमाणपत्रद्वारा उद्घाटन समारोहका प्रमुख अतिथिबाट सम्मान गरिने कार्यक्रम रहेको छ।

यस्तै, एक्स्पोको सह-आयोजक संस्थाहरु पुष्प विकास केन्द्र, वनस्पती विभाग, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय वाग्मती प्रदेश रहेको छ, भने सहयोगी संस्थाहरु ए.जि.ए एग्रो कुमारी फ्लोरा फार्म, गौतम नर्सरी, सलोम एग्रिकल्चर प्रा.लि., ग्रिस्मा नर्सरी, सृजना एग्रिकल्चर प्रा.लि. र ए.बि.टि मोटर्स साथै मेला स्थल सजावटको लागि उदय गार्डेन सेन्टर प्रा.लि. र एभरेष्ट फ्लोरिकल्चर एण्ड भेजिटेवल फार्म रहेको छ।