पोखरा। पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा कानूनी सचेतना, डिजिटल मार्केटिङ, सकारात्मक सोच र व्यापार प्रवद्र्धनबारे तालिम सुरु भएको छ ।
३ दिनसम्म चल्ने तालिमको शुक्रबार पोखरामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश क्षेत्रीय कार्यालयका प्रमुख मणिराज लामिछानेले उद्घाटन गरे । उनले यसप्रकारका तालिमले व्यापार प्रवद्र्धनमा निकै सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले टेवानले पोखरा र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा पछिल्लो समय गर्दै आएका गतिविधिले सकारात्मक प्रभाव पारेको जनाए ।
पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारीले तालिमको सफलताको शुभकामना दिँदै तालिमका सिकेका कुरा व्यवहारमा उतार्न सुझाव दिए । टेवान अध्यक्ष कमला गिरीले विगतमा झैं अहिले घरघरमै पुगेर व्यापार व्यवसायबारे प्रचार गर्ने समय नभएकाले डिजिटल मार्केटिङबारे तालिम दिइएको बताइन् ।
उनले प्रस्ट पार्दै भनिन्, ‘पर्यटन क्षेत्रमा लागेका महिलाहरु दिदीबहिनीहरु आफैँले तथा आफ्ना कर्मचारीलाई यसबारे सिकाउनुपर्छ र ज्ञान बाँड्नुपर्छ भनी यो तालिम आयोजना गरेका हौं । पक्कै पनि यो तालिम फलदायी हुने अपेक्षा गरेका छौं ।’
तालिमका प्रशिक्षकहरुमा अधिवक्ता सुष्मा पौडेल, अधिवक्ता तारा शर्मा र सिमेमी लिम्बु छन् । अधिवक्ताद्वय सुष्मा पौडेल र तारा शर्माले सकारात्मक सोच एवं कानूनी सचेतनाबारे प्रशिक्षण दिने छन् भने डिजिटल मार्केटिङबारे सिसेमी लिम्बुले प्रशिक्षण दिने टेवान अध्यक्ष गिरीले बताइन् ।
टेवान अध्यक्ष गिरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्वागत कार्यक्रम संयोजक शारदा लम्साल र संचालन महासचिव अनिता खड्का भट्टराईले गरेकी थिइन् । तालिममा पर्यटन व्यवसायी महिलाहरु, विद्यालयका कर्मचारी एवं विभिन्न संघसंस्थाका प्रतिनिधिसमेत गरी करिब ७० जनाले भाग लिएका छन् ।
सहभागीलाई पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा २ दिनसम्म सैद्धान्तिक कक्षापछि तेस्रो दिन पर्यटकीय क्षेत्र बन्दीपुरमा डिजिटल मार्केटिङबारे अवलोकन भ्रमण गराइने छ ।