Mar 31, 2025

कृषिको प्राथमिकता तथा नीति कार्यक्रमबारे धादिङका पालिका प्रमुख/उपप्रमुखहरुसंग छलफल


काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धी छलफल सुरु गर्नुभएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा आज धादिङ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँग छलफल सम्पन्न भएको छ।

छलफलमा धादिङका दुई नगरपालिका र ११ गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता रहेको थियो।

साथै, मन्त्रालयका सचिवद्वय डा. गोविन्द प्रसाद शर्मा, डा. राजेन्द्र प्रसाद मिश्र लगायतका पदाधिकारीहरू पनि उपस्थित थिए।

मन्त्री अधिकारीले आगामी वर्षका नीति तथा कार्यक्रम स्थानीय तहका सरोकारवालाहरूको सुझावका आधारमा तय गरिने जानकारी दिनुभयो।

उहाँले कृषि विकासमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै स्थानीय तहका सुझावहरूलाई मन्त्रालयले ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसै सन्दर्भमा, मन्त्री अधिकारीले भोलि (शुक्रबार) काठमाडौं उपत्यकाका पालिका प्रमुख तथा उपप्रमुखहरूसँग पनि छलफल आयोजना गर्ने जानकारी दिनुभयो।

उहाँले स्थानीय सरकारले मन्त्रालयका आगामी नीति तथा कार्यक्रमहरूप्रति अपनत्व लिन सक्ने वातावरण बनाउन चाहेको बताउँदै आगामी बजेटमा कृषि क्षेत्रमा उत्कृष्ट कार्यक्रम अघि सार्न प्रयास गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो।