Mar 29, 2025

वागमती प्रदेश सरकारको निर्णयविरुद्ध यातायात मजदुर संघ,संस्थाहरूको आपत्ति


काठमाडौं : वागमती प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्देशनमा जारी गरिएको निर्णयको विरोध गर्दै नेपालका विभिन्न यातायात मजदुर संघ, संस्थाहरूले आज संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेका छन्।

बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल ट्याक्सी चालक संघ, नेपाल मिटर ट्याक्सी सेवा प्रा.लि., लगायतका संघ, संस्थाहरूले प्रदेश सरकारको निर्देशनलाई अन्यायपूर्ण भन्दै त्यसको खारेजीको माग गरेका छन्।

उनीहरूले प्रदेश सरकारले संघीय कानुनको उल्लंघन गरी ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौंलाई दिएको आदेश गलत रहेको दाबी गरेका छन्।

संघ संस्थाहरूका अनुसार उक्त निर्णय कार्यान्वयन भएमा हजारौं स्वतन्त्र रोजगार व्यवसायी बेरोजगार हुने छन्।

यो निर्णयले साना व्यवसायीहरूलाई मार पर्ने र ट्राफिक व्यवस्थापनमा थप अव्यवस्था निम्त्याउने उनीहरूको भनाइ छ।

यातायात मजदुर संघ संस्थानहरूले सरकारले उनीहरूको मागलाई बेवास्ता गरेमा संघर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

साथै, कुनैपनि असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार आफैंले लिनु पर्ने उनीहरूको भनाइ छ।