
काठमाडौं। सिमेन्ट, स्टिल र धागो उत्पादकहरुले अघोषितरुपमा भइरहेको लोडसेडिङ तत्काल हटाउन माग गरेका छन्।
नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त पत्रकार सम्मेलन गरी अघोषित लोडसेडिङ मान्य नहुने भन्दै लोडसेडिङ हटाउन सरकारसँग माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले उद्योग संचालन गर्नु के अपराध हो भनी प्रश्न गर्दै भने, ‘यदि सरकारले लोडसेडिङको तालिका दिएमा विकल्प खोजिने थियो। अघोषित लोडसेडिङ हामीलाई मान्य छैन।’
नेपालको औधोगिक क्षेत्रमा संधैं लोडसेडिङ भइरहेको तर नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ छैन भनेर गलत प्रचार गरिररहेको आरोप उनले लगाएका छन्। उनले उत्पादनमुलक उद्योगमा लोडसेडिङ नगर्न माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत रहेका अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले औधोगिक ग्राहक संधै प्राथमिकतामा पर्नुपर्ने भन्दै यस्ता क्षेत्रमा लोडसेडिङ बन्द हुनुपर्ने बताए। मुरारकाले डेडिकेटेड र ट्रंकलाईनको विवादलाई टुंगोमा पुर्याउनुपर्ने माग गरे ।
पत्रकार सम्मेलनमा उद्योगीहरु विद्युत प्राधिकरणप्रति आक्रामकरुपमा खनिएका देखिन्थे।
पत्रकार सम्मेलनमा नेपाल स्टिल उत्पादक संघका अध्यक्ष शोभाकर न्यौपानेले लोडसेडिङकै कारण उद्योगको लागत अत्याधिक बढेको भन्दै लोडसेडिङ हटाउन माग गरे। उनले लोडसेडिङका कारण स्टिलको मूल्य बढेको बताए।
नेपालको औद्योगिक क्षेत्रमा सधैँ लोडसेडिङ भइरहेको भन्दै नेपाल सिमेन्ट उत्पादक संघका पूर्व अध्यक्ष ध्रुव थापाले नेपाल विद्युत प्राधिकरण किन लोडसेडिङ छैन भन्छ र लोडसेडिङको सूचनासहितको तालिका किन दिँदैन भनि प्रश्न गरे।
देशमा लोडसेडिङको अन्त्य नभएको भन्दै उनले प्राधिकरणले झुठको खेती गरिरहेको आरोप लगाए।
नेपाल धागो उत्पादक संघका प्रतिनिधि शशिकान्त अग्रवालले विद्युत कटौतीका कारण उत्पादनमुलक उद्योहरु समस्यामा परेको भन्दै सरकार र नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराए।
उद्योगीहरुले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिषचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन कार्यान्वयन गरी डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्न आग्रह पनि गरेका छन्।
लोडसेडिङ अन्त्य गरेर औद्योगिक वातावरण बनाउन उनीहरु सबैको आग्रह छ।