बाँसका सामग्री निर्माण सम्बन्धि तालिम शुरु


ललितपुर। ‘बाँसले जीवन राम्रो बनाउँछ’ भन्ने नाराका साथ ललितपुरको गोदावरी नगरपालिका -४, बडिखेलमा बाँसका सामग्री निर्माण सम्बन्धि सीप विकास तालिम शुरु भएको छ।

चैत २० गतेसम्म चल्ने तालिमको आज गोदवरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन एवं चिनिया दूतावासका कन्सुलर ची वाङले संयुक्त रूपमा उद्घाटन गरेका छन्।

उक्त तालिममा गोदावरी नगरपालिका विभिन्न वडाबाट छानिएका २२ जना प्रशिक्षार्थीहरू रहेका छन् । गोदावरी नगरपालिका वडा नम्बर-४ मा बसोबास गर्ने पहरी र नगरकोटी समुदायका व्यक्तिहरूलाई तालिममा बढी सहभागी गराइएको छ।

विशेषगरी, पहरी र नगरकोटी समुदायका व्यक्तिहरू बाँसका सामाग्री बनाएर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । उनीहरूको थप सीप विकास गर्न र व्यवसायिक बनाउनका लागि भन्दै तालिमको आयोजना गरिएको जनाइएको छ ।

सोशल डेभलपमेन्ट भिजन, ललितपुरको आयोजनामा शुरु भएको तालिमलाई चीनको सिजाङ(तिब्बत) मा मुख्यालय रहेको गुडविल फाउण्डेसन र काठमाडौंमा रहेको नेपाल-चाइना कैलाश कल्चर प्रमोशन डेभलपमेन्ट एसोसिएसनले सहयोग गरेका छन्।

स्थानीय साझेदारको रुपमा गोदावरी नगरपालिका र गोदावरी उद्योग वाणिज्य संघ रहेका छन् । ग्रीन ब्याम्बो क्रियशनले तालिम संचालनका लागि प्राविधिक सहयोग गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गोदावरीले यो तालिमलाई अवसरको रूपमा लिएको बताए । महर्जनले बाँसका सामग्री निर्माण सम्बन्धि सीप विकासले यस क्षेत्रका जनताको आम्दानीमा वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

महर्जनले वडा नम्बर ४ का पहरी र नगरकोटी समुदायका व्यक्तिहरूको आम्दानीको स्रोत नै बाँस भएको उल्लेख गर्दै अझ राम्रो सामग्री उत्पादनमा तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

महर्जनले वडामै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको तालिम आएकोले ध्यानपूर्वक तालिम अवधिभर सिक्न प्रशिक्षार्थीहरूलाई आग्रह गरेका छन् । राम्रो उत्पादन गरेर बाँसको सामग्रीको बजारीकरण गर्नेगरी अघि बढ्नु पर्ने महर्जनले बताए ।

आयोजक संस्था सोशल डेभलपमेन्ट भिजन, ललितपुरका अध्यक्ष शिवकुमार बस्नेतले गोदावरीमा बाँसका सामग्रीबाट जीवन गुजारा गरिरहेका व्यक्तिहरूलाई व्यवसायिक बनाउनका लागि तालिम सञ्चालन गरिएको बताए।

बस्नेतले बाँसको सामग्रीहरूको बजार नेपालमा मात्रै नभई विदेशमा पनि रहेको उल्लेख गर्दै व्यवसायिक रूपमा दक्ष जनशक्ति बनाउने लक्ष्य रहेको उल्लेख गरे।

त्यसैगरी, गुडविल फाउण्डेसन तिब्बतका अध्यक्ष मा जेजियानले तालिममा बाँसको चोयाबाट विभिन्न सामग्रीहरू निर्माण गर्न सिकाइने बताए । जेजियानले चोयाको माध्यमबाट जीवन कसरी आर्थिक रूपमा समृद्ध बनाउने भन्ने कुरा तालिममा सिकाइने भन्दै यसबाट नेपाल र चीनका बीचमा सीप आदान-प्रदान पनि हुने उल्लेख गरे । अध्यक्ष जेजियानले यो कार्यक्रम केही वर्षअघि नै नेपाल ल्याउन चाहेको स्मरण गर्दै अहिले यहाँका कुशल कालिगढहरूले थप उन्नत सीप सिक्ने मौका पाउने विश्वास व्यक्त गरे।

जेजियानले यस कार्यक्रमबाट स्थानीय समुदायलाई फाइदा पुग्ने बताउँदै भने,‘हामी प्लास्टिकको विकल्पका रूपमा बाँसको अवधारणालाई प्रवद्र्धन गर्दै हरित विकासलाई प्रोत्साहित गर्न चाहन्छौँ, जसले हाम्रो वातावरणलाई अझ सुन्दर बनाउने छ । यस तालिमको माध्यमबाट, नेपाली मित्रहरूले चीन र चीनको बाँस संस्कृति अझ राम्रोसँग बुझ्ने अवसर पाउने छन् ।’

गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष राजन महर्जनले सन् २०१५ मा चीनले बाँसबाट गरेको समृद्धि देख्ने अवसर पाएको स्मरण गर्दै यो कार्यक्रम नेपाल र चीनबीच जनस्तर र सांस्कृतिक सम्बन्ध बढाउन कोशेढुंगा हुने विश्वास व्यक्त गरे । महर्जनले सबै क्षेत्रको प्रयासले कार्यक्रम सफल बन्ने बताए।

यसैगरी, गोदावरी नगरपालिका वडा नम्बर -४ का वडाध्यक्ष सानुभाई नगरकोटीले जीविकोपार्जनका लागि मात्र नभई उद्यमी र व्यापारी बन्नेगरी बाँसको सामग्री बनाउने गरी लाग्नु पर्ने बताए । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र के.सी. समेत सहभागी भएको उद्घाटन कार्यक्रमलाई ग्रीन ब्याम्बो क्रियशन नेपालका संचालक प्रणव प्रधानले स्वागत गरेका थिए।

बाँसका सामाग्री र फर्निचरमा ख्याति कमाएको चीनको सिचुआन प्रान्तस्थित मेइशान सहरका उद्योगी एवं वरिष्ठ कालिगढ लि यिनहाई र सुआई यानपिङले प्रशिक्षार्थीहरूलाई लालटिनलगायत बाँसको चोयाबाट बन्ने सामाग्री तयार पार्न सिकाउने छन्।

नेपालमा ६३ हजार हेक्टर जमिनमा ५० भन्दा बढी प्रजातिका बाँस पाइन्छन् । बाँसको व्यवसायिकरणका लागि नेपालमा पनि विभिन्न प्रयासहरू शुरु भएका छन्।

गत फागुन १५ गतेदेखि १७ गतेसम्म खोटाङको दिक्तेलमा ‘पहिलो राष्ट्रिय बाँस सम्मेलन’ समेत सम्पन्न भइसकेको छ।