
काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ ज्यूको अध्यक्षतामा अनमोल बैंक्वेट, शंखमुल, काठमाडौँमा सम्पन्न भएको थियो।
साधारणसभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता २०८१ फागुन १५ गतेका लागि बन्द गरिएको थियो।
२०८१ फागुन १४ गतेसम्म कायम सेयरधनीले साधारणसभामा उपस्थित भएका थिए।
उक्त साधारणसभाबाट आ.व. २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तनलगायत पारित गरिएको छ।
त्यस्तै, गत आ.व.को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको ८.७५ प्रतिशतका दरले हुन आउने रकम २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभांश समेत पारित गरियो।
यसै साधारणसभाबाट आ.व. २०८१/०८२ को लागि कम्पनीको बाह्रय लेखापरीक्षकको नियुक्ती र पारीश्रमिक समेत लेखापरीक्षण समितिले सिफारिस गरिए बमोजिम अनुमोदन गरिएको छ।
उक्त साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीले प्रविधि र प्रतिभामा वर्तमानमा गरेको लगानीको माध्यमबाट दीर्घकालिन रुपमा श्रोतहरुको परिचालन गरि दिगो लाभ लिन सकिनेमा विश्वास लिएको बताए।
साथै उनले सबै सरोकारवालाहरूको विश्वास र सहयोगबाट कम्पनीलाई गतिशील बनाउँदै निर्जीवन बीमा क्षेत्रमा अग्रणी रूपमा स्थापित हुनेमा आफू पूर्णरूपमा विश्वस्त रहेको पनि उल्लेख गरे।