
काठमाडौं । बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई अध्यक्ष नियुक्त गरेको हो ।
सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा काम गरेका ओझाले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् ।
अध्यक्ष नियुक्तिका लागि सरकारद्वारा गठित सिफारिस समितिले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाको नाम मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको थियो। कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता फागुन १० गते अर्थ मन्त्रालयमा गरिएको थियो।
समितिको गत फागुन ४ गतेको निर्णयानुसार सर्टलिस्टमा कमलप्रसाद रेग्मी, चिरिञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा परेका थिए। कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि प्राप्त अंकका आधारमा पहिलो नम्बरमा शरद ओझा, दोस्रोमा रामशरण पुडासैनी र तेस्रोमा दामोदर बस्यौलाको नाम सिफारिस गरिएको थियो।
मन्त्रिपरिषदको बैठक सोमबार साँझ बालुवाटारमा बसेको थियो। मन्त्रिपरिषद्को बैठकले ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। सम्भवतः ओझाले भोलि प्राधिरणको अध्यक्षको शपथ ग्रहण गरेर कार्यभार सम्हाल्नेछन्।