ईकोनोमिक खबर, काठमाण्डौ । नेपाली वित्तीय क्षेत्रमै ऐतिहासिक मर्जर गरेको यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सका बीचमा आज मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरु हुँदैछ । नेपालको इतिहासमा आजसम्म तीन वटा संस्था एकै पटक मर्जरमा गएका छैनन् ।
२०७९ बैशाख २९ गते बिहिवार आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका तीन वटा कम्पनीले आज एक वर्ष पुग्न तीन दिन बाँकी रहँदा एकीकृत कारोबार शुभारम्भ गर्न सफल भएका छन् । आज विहान नेपाल बीमा प्राधिकरणमा सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले शपथ लिएपछि औपचारिक रुपमा बीमा पोलिसी जारी गरी आजैबाट एकीकृत कारोबार शुभारम्भ हुनेछ । औपचारिक कार्यक्रम भने अपरान्ह ५ः३० बजेको लागि राखिएको छ ।
प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्जर भई नयाँ जीवन बीमा कम्पनीको रुपमा हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ । तीन वटै कम्पनीभन्दा फरक नाम राख्न हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी छनौट गरिएको हो । हिमालयन लाइफ इन्स्योरेन्स सात अर्ब ७० करोड चुक्ता पुँजि भएको शक्तिशाली जीवन बीमा कम्पनीको रुपमा कारोबार गर्नेछ ।
तीन कम्पनीले एक आपसमा गाभिन बीमा प्राधिकरणबाट बैशाख १३ गते अन्तिम स्वीकृति पाएका थिए । यूनियन र प्राइमको बैशाख ६ गते सम्पन्न विशेष साधारणसभाबाट र गुराँस लाइफको पनि बैशाख ६ गते नै सम्पन्न वार्षिक साधारण सभाबाट यी तिनै कम्पनीले मर्जर सम्झौता सम्बन्धी अन्तिम सम्झौतालाई अनुमोदन गर्दै पारित गरेका थिए । नयाँ बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डले यी तिन कम्पनीलाई बैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले बैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
नयाँ बनेको हिमालयन लाइफमा मनोजलाल कर्ण सिईओ बनेका छन् भने अध्यक्ष सुलभ अग्रवालले सम्हाल्नेछन् । नयाँ हिमालयन लाइफको केन्द्रीय कार्यालय हात्तिसारस्थित प्राइम लाइफको केन्द्रीय कार्यालय रहेको भवनमा हुनेछ । तीन वटै कम्पनीले १ः१ः१ स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता गरेका छन् ।
ऐतिहासिक रुपमा आपसमा युनियन लाइफ सबैभन्दा नयाँ कम्पनी हो । सो कम्पनीले २०७४ सालदेखि मात्रै सञ्चालनमा आएको कम्पनी हो । प्राइम लाइफ र गुराँस लाइफ २०६४ सालदेखि संचालित पुरानो कम्पनी हो ।हाल प्राइम लाइफको चुक्ता पुँजि तीन अर्ब १४ करोड रुपैयाँ रहेका छ भने युनियनको चुक्ता पूँजी २ अर्ब ३३ करोड रुपैयाँ र गुराँसको २ अर्ब २३ करोड रुपैयाँसहित कूल सात अर्ब ७० करोड रुपैयाँको नयाँ हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी बन्नेछ ।