
नवलपुर । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर -१३ भित्रका क्लब, आमा समूह र टोल विकास समितिका सदस्यहरूलाई लक्षित गरी प्रजातन्त्र दिवसको अवसरमा आयोजित एकदिने ‘ नेतृत्व विकास तथा उद्घोषणकला तालिम ’ सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष समिर लामिछानेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कावासोती नगरपालिका वडा नम्बर -१३ का वडाध्यक्ष लालबहादुर गुरुङ रहेका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लालबहादुर गुरुङले यस्तो तालिमले समाजमा सकारात्मक सोच विकास गर्न, नेतृत्वदायी क्षमताको अभिवृद्धि गर्न र समुदायको समस्या समाधानका लागि प्रभावकारी पहल गर्न सहयोग गर्ने बताए । गुरुङले सामाजिक संस्थाहरूको भूमिकालाई थप सक्रिय र प्रभावकारी बनाउन यस्तो कार्यक्रम आवश्यक रहेकोमा जोड दिए।
तालिममा पत्रकार तथा प्रशिक्षक रमेश बस्ताकोटीले नेतृत्व विकास र उद्घोषणकला सम्बन्धि प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा सहभागीहरूलाई प्रभावकारी बोल्ने तरिका, भाषणकला, आत्मविश्वास बढाउने उपाय, नेतृत्व कौशल, निर्णय क्षमता र सहकार्यको महत्त्वजस्ता विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा टोल विकास समिति, आमा समूह र विभिन्न क्लबका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले तालिमबाट नेतृत्वदायी भूमिका निर्वाह गर्न सिक्ने अवसर पाएको बताउँदै कार्यक्रमको प्रशंसा गरेका छन् । यो तालिमले सहभागीहरूलाई नेतृत्वदायी क्षमताको विकास गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरणा दिने विश्वास आयोजकले जनाएको छ ।