
आज फाल्गुण ७ गते नेपाली जन संघर्षको इतिहासको एक अवस्मरणीय दिन हो।
नेपालको आधुनिक इतिहासमा नेपाली कांग्रेसको नेतृत्वमा वि. स. २००७ साल फागुन ७ गते प्रजातन्त्रको प्रारम्भ भएको गौरवमय दिनका अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना।
वि.सं. २००७ को कार्त्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जनक्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको थियो ।
राजा र जनतालाई एकता कायम गरि फाल्गुण ७ को यो ऐतिहासिक दिनले देशमा केवल प्रजातन्त्र मात्र स्थापित गरेन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक आदि हरेक क्षेत्रमा यसले आमूल रूपमा अग्रगामी परिवर्तन ल्यायो ।
यसले जात-जाति, धर्म, लिङ्ग वा वर्गको आधारमा हुने भेदभाव हटाएर शोषण रहित समाज निर्माणमा मुलुकलाई अग्रसर गरायो ।
यसै दिनदेखि नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट बाहिर आएर नयाँ युगमा प्रवेश गयो र नेपालले प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि निर्माण गयो । त्यसैले नेपालमा प्रजातन्त्र र राष्ट्रियता एक अर्काका परिपूरक भएर रहेका छन् ।
राष्ट्रिय स्वाधिनता र नागरिक अधिकारका लागि पटक-पटक भएका क्रान्ति, संघर्ष र आन्दोलनहरूमा अनेकौं सपुतहरूले लोकतन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेका छन् ।
नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै नेपाललाई आर्थिकरूपले समृद्ध मुलुकमा रूपान्तरण गर्न सक्यौं भने मात्र लोकतान्त्रिक आन्दोलनमा बलिदानी दिनु हुने शहिदहरूप्रति सच्चा सम्मान प्रकट गरेको ठहर्छ।
यो ऐतिहासिक दिनमा म ती सम्पूर्ण शहीदहरूको त्याग र वलिदानको संस्मरण गर्दछु र उहाँहरूलाई श्रद्धाञ्जली अर्पण गर्दछ ।