ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको बताएका छन् ।
बिहीवार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो समय आयातमा कमी आउँदा सरकारको राजश्व संकलन गत वर्षको भन्दा घटेको बताए । अधिकारीले राजश्व संकलनमा कमी आएसँगै बढ्दो सरकारी चालु खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको बताए ।
आर्थिक चापका बीच आन्तरिक तथा बाह्य क्षेत्र प्रभावित हुँदा बैङ्किङ क्षेत्र समेत प्रभावित हुन पुगेको उनले बताए । फागुन मसान्तसम्म बैक तथा वित्तीय क्षेत्रको खराब कर्जाको दर २।०६ प्रतिशत रहेको बताउँदै गभर्नर अधिकारीले पछिल्लो समय यस्तो दर थप वृद्धि भएको बताए ।
उनले बैंकले ब्याजदर घटाउँदा आन्तरिक आर्थिक गतिविधि बढ्दै जान थालेको बताए । अधिकारीले पछिल्लो महिनामा मूल्यवृद्धि पनि घट्दो क्रममा रहेका दावी गरे । बैंकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाब परेको बताउँदै अधिकारीले १० बिलासी वस्तुको आयात रोकेपनि शोधनान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा निरन्तर सुधार आएसँगै राष्ट्र बैंकको प्रयासले गत असोजबाट शोधनान्तर स्थितिमा सुधार भएको बताए ।
उनले अहिले शोधानान्तर र विदेशी विनिमय सुधारका कारण ब्याजदर घटन लागेको बताए । गभर्नर अधिकारीले पछिल्लो समय वित्तीय स्थिति सुधार हुँदै गएको बताए । उनले अहिले निक्षेप र आधारदर घटेको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय अवस्था सुधार हुँदै आएको बताए ।
अधिकारीले भने, ‘सरकार र राष्ट्र बैंकले लिएका नीतिले गर्दा गत असोजबाट शोधनान्तर बचत हुन गई विदेशी मुद्राको सञ्चितिमा सुधार हुन थाल्यो । शोधनान्तर स्थितिमा आएको सुधारसँगै सरकारले केही वस्तुमा लगाएको आयात प्रतिवन्ध हटाएको छ । राष्ट्र बैंकले एलसी खोल्दा नगद मार्जिनको व्यवस्था हटाएको छ । शोधनान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा आएको निरन्तर सुधारका कारण बैंकिङ प्रणालीको तरलता स्थितिमा सुधार आएको छ भने बैंकको ब्याजदरमा परेको दबाब कम हुन थालेको छ । बैंक तथा वित्तीय संस्थाले पनि कर्जाको ब्याजदर घटाउन थालेका छन् ।’
उनले थपे, ‘चालु आर्थिक वर्षका आर्थिक वृद्धिदर औसत स्थरमा रहने देखिन्छ । पछिल्लो महिनामा मूल्यवृद्धि पनि घट्दो क्रममा रहेको छ । आयातमा कमी आउँदा आवमा सरकारको राजश्व संकलन भने गत वर्षको भन्दा घटेको अवस्था छ ।
कमजोर राजश्व परिचालन बढ्दो सरकारी चालु खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको छ । बैंकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाब परको अवस्था छ । २०७९ फागुनमसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निस्कृय कर्जाको अनुपात कुल कर्जाको २।६ प्रतिशत रहेको कुल तरल सम्पती कुल निक्षेपको २४।३ प्रतिशत रहेको जोखिम भारति सम्पतीको १२।९ प्रतिशत कुल पुँजी कोष रहेकाले नेपालका बैंक तथा वित्तीयको वित्तीय स्थिति सुधार रहेको छ ।’
डेपुटी गभर्नर डा। नीलम ढुंगानाले राष्ट्र बैंकले ब्याजदर घटाउने गरी नीतिगत व्यवस्था गरेको बताइन् । उनले व्यापार चक्रमा कहिले तेज र कहिले सुस्त हुने बताउँदै सबैलाई संयमित भएर काम गर्न आग्रह गरिन् । ढुंगानाले नीतिगत व्यवस्था कटौति गरेर कोरोना कालमा अर्थतन्त्र चलायमान गरेको दाबी गरिन् ।
तर, पछिल्लो समय बढ्दो निक्षेपदर, घट्दो अन्तर बैंकिङ ब्याजदर र तरलता सहजताले कर्जाको ब्याजदर समेत घट्दो क्रममा रहेको उनले बताए । सोही अवसरमा गभर्नर अधिकारीले वर्ष २०७९ आर्थिक दृष्टिकोणले निकै चुनौतीपूर्ण रहेको बताउँदै यसका बाबजुद पनि राष्ट्र बैंकको नीतिले विकराल अवस्था आउन नपाएको बताए ।