
बासगढी, बर्दिया । स्थानीय रैथाने उत्पादनको प्रवर्द्धन गर्न बासगढी नगरपालिकाले जैविक विविधता सहकारी संस्था स्थापना गरेको छ।
नगरपालिकाले स्थानीय किसान, उद्यमी तथा व्यवसायीलाई संगठित गरी जैविक उत्पादनलाई बजारसम्म पुर्याउने उद्देश्यले उक्त सहकारी स्थापना गरिएको जनाएको छ।
बासगढी नगरपालिकाका प्रमुख खडक बहादुर खड्काले सहकारीमार्फत स्थानीय उत्पादनहरूको बिक्री तथा वितरण प्रणालीलाई प्रभावकारी बनाइने बताए। “हामीले स्थानीय स्तरमा उत्पादन भएका कृषि तथा अन्य जैविक सामग्रीलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो सहकारी स्थापना गरेका हौं,” उनले भने।
नगरपालिकाले किसान तथा उत्पादकहरूलाई प्राविधिक तालिम, बजारीकरण सहयोग र अनुदान कार्यक्रम समेत सञ्चालन गर्ने योजना बनाएको छ। यसले स्थानीय रोजगारी सिर्जना गर्नका साथै रैथाने उत्पादनको संरक्षण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
यस योजनाले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग गर्ने विश्वास गरिएको छ।