ईकोनोमिक खबर, काठमाडौं।
चुक्ता पुँजी वृद्धिकै लागि मर्जरमा गएका सानिमा र रिलायन्स लाइफले जीवन बीमातर्फ इतिहास रच्दै आजैबाट एकिकृत कारोबार सुरु गरेका हुन् ।
आजबाट एकीकृत कारोबार सुरु गरेको सानिमा र रिलायन्सले गत आर्थिक वर्षको अन्तिम समयमा आएर मर्जरको सहमति जुटाएका थिए । गएको असार २९ गतेमा मर्जरमा जान पक्कापक्की गरिसकेका यी कम्पनीहरुले एकीकृत कारोबार लागि भने करिब डेढ महिना अघि अनुमति पाएका हुन् ।
मर्जर प्रक्रियामा एउटा कम्पनीबाट प्रमुख कार्यकारी अधिकृत र अर्को कम्पनीबाट संचालक समिति अध्यक्ष हुने गरी समझदारी भइरहेको छ । तर, सानिमा रिलायन्स लाइफको हकमा भने त्यस्तो हुन सकेन ।
प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले सानिमा लाइफका सीईओ अगम मुखियाले सिईओको जिम्मेवारीमा नबस्ने र रिलायन्स लाइफका सीईओ राकेश पोखरेलले सिनियर डिसीईओ बस्न प्रस्ताव गरेसँगै कम्पनीबाट नयाँ सीईओको प्रस्ताव आएको बताए । सोही कारण केही वर्ष अघि सूर्या लाइफको सीईओबाट बाहिरिएका शिवनाथ पाण्डेले सानिमा रिलायन्सको नेत्तृत्व गर्ने सहमति भइसकेको छ । बीमा क्षेत्रमा प्रवेश गर्नु अघि पाण्डे नेपाल राष्ट्र बैंकमा लामो समयसम्म कार्यरत थिए ।
कम्पनीको अध्यक्षमा रिलायन्स लाइफका अध्यक्ष ताराचन्द केडिया चयन भएका छन् । उनले आजै बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।
बीमा प्राधिकरणका अनुसार सानिमा लाइफ र रिलायन्स लाइफले एकै समयमा लाइसेन्स पाएको र दुवै कम्पनीका सूचकहरु पनि समान रहेकाले १ः१ (एक बराबर एकको अनुपात) को शेयर स्वाप रेसियोमा मर्जरमा जान समेत स्विकृती दिइएको छ ।
बीमा प्राधिरणले पाँच अर्ब रुपियाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिए पनि मर्जरपछि यी कम्पनीहरुको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपियाँ हुनेछ । बाँकी पुँजीका लागि कम्पनीले अन्य विकल्प अपनाउनु पर्ने देखिन्छ ।
मर्जरपछि कम्पनीको जीवन बीमा कोष ८ अर्ब ३४ करोड रुपियाँ बराबरको हुनेछ । त्यस्तै, जगेडा कोष ७७ करोड ५९ लाख हुनेछ ।