ईकोनोमिक खबर, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा दलित समुदायका लागि विशेष कार्यक्रम घोषणा हुने बताएका छन् । मङ्गलवार ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस (२१ मार्च)को सन्दर्भमा काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा दलित समुदायका लागि विशेष कार्यक्रम घोषणा हुने बताएका हुन्।
उनले आफ्नो यो कार्यकालमा दलित समुदायले सयौँ वर्षसम्म सम्झने गरी केही कार्यक्रम घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले दलित समुदायका माग र मुद्दाहरूको सम्बोधन अहिलेको परिस्थितिमा आफूलेबाहेक अरूले गर्न नसक्ने दाबी पनि गरे ।
उनले भने, ‘मलाई लाग्छ, नेपालको आजको मितिमा, म सधैँ भन्दिनँ, आजको दिनमा मैले गर्न सके त्यो अगाडि जान्छ । अरूले गर्ने स्थिति मैले देखेको छैन । त्यस कारण म तपाईँहरूको अगाडि आजको यो ऐतिहासिक दिनमा के घोषणा गर्न चाहान्छु भने मेरो यो कार्यकालमा दलितहरुले भविष्यसम्म, सयौँ वर्षसम्म सम्झिने गरी केही घोषणा म गर्दैछु ।’
प्रधानमन्त्री प्रचण्डले दलित समुदायको हक र अधिकारका निम्ति सिङ्गो राज्य र राज्यका निकायहरू जिम्मेवारपूर्ण हुनुपर्नेमा सरकार स्पष्ट रहेको बताए । उनले दलित समुदायको विकास र उन्नतिका लागि राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार दिनुपर्ने बताए । त्यस्तै सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समानताको आधारशिला खडा गर्न सकिने उनको भनाइ छ।
उनले दलित समुदायले आज पाएका संवैधानिक र कानुनी हक, अधिकारहरू जनयुद्धको उपलब्धिको रूपमा आएको बताए।
संयुक्त राष्ट्रसङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सो महासन्धिलाई सन् १९७१ मा मात्रै नेपालले अनुमोदन गरेको थियो । यो दिवस भने सन् १९६६ देखि प्रत्येक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ।