ईकोनोमिक खबर, काठमाण्डौं। आम उपभोक्ताको दैनिक खाद्यान्नको रुपमा चामलको सट्टा स्वस्थलाई ध्यानमा राखी रोटी खाने बानीको विकास भएको छ । साथै मैदा/आँटा कच्चापदार्थको रुपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी/नान, भोजनालय, रेष्टुरेण्ट लगायत साना ठुला सबै होटललाई माग अनुसारको मैदा/आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभावको अवस्था सिर्जना भएकोले कसरी मैदा/आँटा उपलब्ध गराउने भनी मैदा व्यवसायी चिन्तित छन्।
भारत सरकारले २०७९ बैशाख ३० गते देखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव भएको छ । भारत सरकारको प्रतिबन्ध पश्चात मैदा उद्योगले बजारबाट महँगो मुल्यमा गहुँ खरिद गरिरहेको हँंदा मैदा/आँटाको मुल्य बढिरहेकाले उपभोक्ता लगायत सबै क्षेत्रलाई प्रभाव परिरहेको जानकारी सरकारलाई संघले दिँदै आएको छ।
अहिले पछिल्लो समयमा बजारमा गहुँ नै छैन, जसको कारण देशभरिका ८० प्रतिशत मैदा उद्योग नै बन्द हुने अवस्थामा पुगेका छन्भने बाँकी उद्योगहरु पनि एक हप्तामा पूर्ण बन्दहुने अवस्थामा छ । मैदा उद्योगले बजारमा मैदा/आँटा दिन सक्ने अवस्थानै छैन । योे विषम परिस्थितिबाट केही हद सम्म राहत पाउन तोकिएको कोटा तुरुन्त पाउनुपर्ने देखिन्छ ।
मैदा उद्योग कृषिमा आधारित उद्योग मध्ये नेपालमा आत्मनिर्भर भईसकेको उद्योग हो । गहुँको अभावमा मैदा/आँटाको अभाव सिर्जना भएकोले नेपाल सरकारसँग संघको विनम्र अनुरोध छ, भारत सरकारसँग कुरा गरी चाँडो भन्दा चाँडो थप गहुँ उपलब्ध गराईदिन अनुरोध छ । अहिले प्राप्त पचास हजार मेट्रिक टन गहुँ सबै मैदा मिलले मिलिङ गर्न पाउँदा पनि हाराहारी २० दिनलाई पुग्छ, त्यस पश्चात फेरी हाहाकार मच्चिन सक्छ । नेपालमा गहुँको सिजन आउन अझ ३ महिना बाँकी छ ।
तसर्थ, नेपाल मैदा उद्योग संघ सरकारसँग विनम्र अनुरोध गर्दछ, भारत सरकारले दिएको पचास हजार मेट्रिक टन गहुँ तुरुन्त मगाउनुपर्छ । बाँकी ३ महिनाको लागि ३८ वटा उद्योगको लागि लगभग २ लाख मेट्रिकटन गहुँ आवश्यक पर्छ । गहुँ उपलब्ध भएमा यहाँका उद्योग चल्ने र सबै क्षेत्रलाई फाईदा पुग्ने हुँदा मैदा आयातको सट्टा गहुँ आयात गर्न तुरुन्तप्रक्रिया अगाडि बढाईदिन समेत नेपाल सरकार समक्ष संघको तर्फबाट अनुरोध छ ।