कुष्ठरोगीलाई समाजले हेर्ने सामाजिक मनोविज्ञान परिवर्तन गर्न जनचेतनाको आवश्यक, स्वास्थ्य तथा जनसंख्या मन्त्री 


ईकोनोमिक खबर, काठमाण्डौं। विश्व कुष्ठरोग निवारण दिवसका अवसरमा आयोजित राष्ट्रिय कुष्ठरोग रणनीति (२०७८।२०८२) सार्वजनिक कार्यक्रम आज सम्पन्न भयो ।

 यस कार्यक्रममा कुष्ठरोग निको भइसकेपछि पनि समाजमा पुनस्र्थापना हुन निकै चुनौतीपूर्ण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बताउनुभयो। 

समाजमा पुनस्र्थापना हुन नसक्ने कारणले नै कुष्ठरोगका बिरामीहरु बहिर आउन नचाहेको उहाँको भनाइ छ। 

यो अवस्थाको अन्त्यको लागि मिडिया, सामाजिक संस्था, व्यक्तिको सहयोग आवश्यक पर्ने मन्त्री गिरीले बताउनुभयो।

कुष्ठरोगीलाई समाजले हेर्ने सामाजिक मनोविज्ञान परिवर्तन गर्न जनचेतनाको आवश्यक रहेको उहाँको ठहर छ । 

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका अनुसार नेपालमा सन २०१० मै कुष्ठरोग निवारण भइसकेको घोषणा गरिएको थियो । तर पनि १६ जिल्लामा अझै कुष्ठरोगका बिरामी भेटिएको सरकारी तथ्यांक छ। 

बाँके, सर्लाही, झापा, बर्दिया, महोत्तरी, धनुषा, मोरङ, सिरहा, कैलाली, रुपन्देही, कपिलवस्तु, रौतहट, पर्सा, अछाम, नवलपरासी र बारामा कुष्ठरोग देखिएको छ।

यी जिल्लामा प्रति १० हजार जनसंख्यामा १ भन्दा बढी कुष्ठरोगी देखिएको छ । 

यसको निवारणमा समयै लागिएन भने अरू जिल्लामा पनि देखिने र यस्ता रोग देखिनेलाई अपाङ्गता बनाउने चुनौती रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमानलाल दासले बताउनुभयो।

उहाँका अनुसार नेपालमा बर्सेनि २२–२३ सय कुष्ठरोग बिरामी देखिन्छन् भने विश्वमा २ लाख भेटिन्छ। यो रोग उपचार गरे निको हुन्छ।