
काठमाण्डौ । कृषि विकास बैंकको ५६ औ वार्षिक उत्सवको अवसरमा कृषि विकास बैंक कर्मचारी सङ्घ नेपाल, मुख्य कार्यालय समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कृषि विकास बैंक कर्मचारी सङ्घ नेपाल, मुख्य कार्यालय समितिका संयोजक राम बहादुर लामाले अध्यक्षता गरेका थिए भने कार्यक्रम सह–संयोजक सुरेश कुमार क्षत्रीले सञ्चालन गरेका थिए ।
पेसागत महासङ्घ नेपालका संयोजक बाबुराम थापाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा अतिथिको रूपमा पेसागत महासङ्घ नेपालका सह–संयोजक दयाराम बस्याल, सचिवालय सदस्य मधुरेन्द्र झा, बैंकका सञ्चालक समिति सदस्य सञ्जीव पौडेल, बैकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदी, बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी सङ्घ नेपालका अध्यक्ष धर्म प्रसाद मैनाली, कृषि विकास बैंक कर्मचारी सङ्घ नेपालका संयोजक लीला जि.सी. लगायत बैंकका उच्च पदस्थ कर्मचारीहरू, युनियनका प्रतिनिधिहरू लगायत उपत्यका भित्र रहेका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि तथा अतिथिहरूले रक्तदातालाई रक्तदान गर्ने सामाग्री हस्तान्तरण गरी संयुक्त रूपमा उद्घाटन गरेकाे उक्त कार्यक्रममा १४७ जना रक्तदाताले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटीले सहजीकरण गरेको उक्त कार्यक्रम हरेक वर्ष बैंक दिवसको अवसरमा कृषि विकास बैंक कर्मचारी सङ्घ नेपालले आयोजना गर्ने गरेको कृषि विकास बैंक कर्मचारी सङ्घ, नेपालका सङ्गठन विभाग प्रमुख छगेन्द्र आचार्यले जानकारी दिए ।