ईकोनोमिक खबर, काठमाण्डौ। प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् ।
तीनवटा जीवन बीमा कम्पनीहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भई गाभ्ने गाभिने प्रक्रियामा रहेकोमा ३ वटा कम्पनीको डीडीए सम्पन्न भई ति कम्पनीहरु बराबर हैसियतमा एक आपसमा गाभिने गरी मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो ।
१ माघ २०७९ मा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितिमा गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौता भएको जनाइएको छ । ३ कम्पनी समान शेयर आदानप्रदान अनुपात स्वाप रेसियोमा मर्जरमा जाने गरी अन्तिम सम्झौता भएको छ ।
मर्जर पश्चात कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार लाल कर्ण रहने सम्झौता भएको छ । मर्जर भएपछि कम्पनीको नाम ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ रहनेछ ।
अन्तिम सम्झौता पत्रमा सहमतीसँगै यी तीनवटै कम्पनीले एकीकृत कारोबारका लागी वार्षिक साधारण सभा वा विशेष साधारण सभाबाट एकीकृत कारोबारका लागी अनुमोदन गराएपछि एकीकृत कारोबार गर्ने बाटो खुल्नेछ । तीन जीवन बीमा कम्पनीहरूबीच आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा गत बैशाख २९ गते प्रारम्भिक सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।
युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफको मर्जर पछि कूल चुक्ता पुँजि ७ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको मर्जर लगायतको कार्यहरु नियमित गरी कर्मचारी र शाखाहरुको व्यवस्थापन सम्बन्धी कार्यलाई अघि बढाउने र समग्रमा एकीकृत कारोबार यथाशक्य छिटो शुरु गर्ने समेत सहमति भएको तीनवटै कम्पनीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।