नर्भिक इन्टरनेशनल अस्पताल आइपीओको तयारीमा, यसवर्ष ४० प्रतिशत लाभांश


ईकोनोमिक खबर, काठमाडौं । साधारण शेयर(आइपीओ)को प्राथमिक निश्कासनको तयारीमा रहेको छ नर्भिक इन्टरनेशनल हस्पिटल । यस अस्पतालले ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । 
नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । 
घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) रहेको छ । 
हाल नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । यो हिसाबले अस्पतालले ४ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि आवश्यक सहित ४ करोड ५० लाख रुपैयाँ बराबरकै नगद लाभांश समेत बाँड्नेछ । 
घोषित लाभांश वितरणपछि नर्भिक अस्पतालको चुक्तापूँजी २७ करोड रुपैयाँ पुग्नेछ । 
कम्पनीको आगामी वार्षिक साधारणसभाबाट लाभांश वितरण सम्बन्धी प्रस्ताव अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ । 
गतवर्ष पनि नर्भिकले ५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 
नर्भिक इन्टरनेशनल हस्पिटल २ वर्षअघि पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ । आइपीओ निश्कासनको योजनासहित पब्लिक लिमीटेडमा रुपान्तरण हुने नर्भिक अस्पताल निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो अस्पताल पनि हो ।