ईकोनोमिक खबर, काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा ५ दिन सम्म सन्चालित होटल हायातमा आयोजित १९ औँ हस्तकला व्यापारमेला तथा १७ औँ हस्तकला प्रतियोगिता सम्पन्न भयो।
गत शुक्रबार उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले समापन गरे । यस मेलामा मन्त्री बडुबाट हस्तकलाको स्टल अवलोकन गर्दै हस्तकला क्षेत्रमा योगदान पुर्याउने विभिन्न विशिष्ट व्यक्तित्व सहित हस्तकला प्रतियोगितामा पुरस्कृत कलाकारलाई सम्मान र पुरस्कार प्रदान गरे।
मन्त्री बडूले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत उत्पादनमा वृद्धि, मुलुक विकास र समृद्धि विशेष अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै हस्तकला क्षेत्र यसको लक्ष्य प्राप्तिको माध्यम भएको धारणा राखे । उनले हस्तकला क्षेत्रका समस्या सम्बोधन गर्न सरकार तयार रहेको उल्लेख गर्दै व्यवसायीसँग सरकारी लक्ष्य प्राप्तीमा हातेमालो गर्न आग्रह पनि गरे।
मेलामा १० ज्येष्ठ कलाकारलाई औषधी उपचार खर्चसहित सम्मान गरिएको थियो भने महासंघको स्थापनाकाल देखि हालसम्म बहालवाला ज्येष्ठ ५० जना सदस्यलार्ई पनि सम्मान गरिएको थियो । कोभिड महामारी पछि हस्तकला व्यवसाय सङ्कटमा परे पनि मेलाले कलाकार र व्यवसायीलाई पुनर्जागरण गरेको महासंघंले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, वागमती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलगायत नेपाल सरकार र प्रदेश सरकारका विशिष्ठ व्यक्तिहरूले मेलाको अवलोकन गर्दै कलाकारको हौसला बढाउनुभएको महासंघले जनाएको छ।
१९ औँ हस्तकला व्यापारमेला तथा १७ औँ हस्तकला प्रतियोगिता पाँच दिनसम्म होटल हायातमा सञ्चालन भएको मेलामा करिव पचास हजारले अवलोकर्ता पुगेका थिए। मेलामा कूल कारोबार रु १० करोड बराबरको हस्तकलाजन्य सामग्रीको कारोबार भएको मेला आयोजक समितिका संयोजकले जानकारी दिए।