स्थिर समयमा नियम उल्लङ्घन गर्नेलाई २५ हजार रुपैयाँ जरिबाना हुने, प्रमुख निर्वाचन आयुक्त


ईकोनोमिक खबर, काठमाडौं। निर्वाचन आयोगले अबहुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ।
आयोगमा पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि सबै तयारी पूरा भइसकेको भन्दै मंशीर १ गते बिहीवार राति १२ बजे देखि चुनावी प्रचार प्रसार गर्न नपाइने बताए।

उनले आयोगले मौन अवधिमा नियमको कडाइका साथ पालना गराउन निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको पनि बताए। निर्वाचन कसुर तथा सजाय ऐनले मतदानको दिनदेखि ४८ घण्टाअघिको समयलाई मौन अवधि अर्थात् स्थिर समय भनेर तोकेको छ।

स्थिर समयमा नियम उल्लङ्घन गर्नेलाई २५ हजार रुपैयाँ जरिबाना हुने थपलियाले बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था प्रदान गर्ने गरी दुई दिनभित्र केन्द्र निर्माण गरिने समेत बताए।

उनले सात हजार दुई सय १९ जनाले चुनावको पर्यवेक्षण गर्ने भन्दै १८ कुटनीतिक नियोगले अनुगमन गर्ने बताए।

यो पटकको चुनावमा सुरक्षा व्यवस्था अत्यन्तै कडा हुने भन्दै बुथ कब्जा गरेर चुनाव जित्छु भन्ने नसोच्न प्रमुख निर्वाचन आयुक्त थपलियाले चेतावनी समेत दिए।

चुनावका लागि आठ करोड मतपत्र छापिएको उनले जानकारी दिए।