ईकोनोमिक खबर, राजधानीको भृकुटीमन्डपमा जारी ३ दिने, २२ औं पुष्प मेलामा ६५ लाखको कारोबार पुष्प जन्य वस्तुको कारोबार गर्दै सम्पन्न भयो।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले ‘स्वच्छ वातावरण तथा आर्थिक सवृद्धिको लागि पुष्प व्यवसाय’ नाराका साथ मेलामा ४५० प्रजातिका पुष्प प्रदर्शन गरिएका थिए।
मेलाको दोस्रो दिन शनिबार भएकाले सबैभन्दा बढी अवलोकनकर्ता र कारोबार भएको मेला समितिको भनाइ छ। मेलामा ४० रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म पर्ने फूल अवलोकन तथा बिक्रीका लागि राखिएको थियो।
मेला अवधिभर आइतबार सम्म ५० हजार अवलोकनकर्ताद्वारा अवलोकन हुने तथा ६० लाख बराबरको व्यवसायीक कारोबार हुने अनुमान रहेकोमा अनुमान भन्दा ७ लाख बढी अवलोकनकर्ता र ५ लाख बढीको कारोबार भएको मेला संयोजक तथा उपाध्यक्ष शिव बहादुर खड्काले बताए।
मेलामा मौसमी फूल, आलंकारीक बोटविरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउबिजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सुक्ष्म तथा थोपा सिँचाइ प्रविधि, आधुनिक खेती प्रविधि र जैविक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष थिए। मेलामा राखिएका सिँचाइका नयाँ प्रविधि, सजावटका सामग्री, फूलका बीउका स्टल र सजावटका स्टलहरूमा अवलोककर्ताको बढी घुइँचो लाग्ने गरेको थियो। पुष्प तथा पुष्पजन्य वस्तुहरूको प्रवर्द्धन, विस्तार, नयाँ प्रविधि अनुसन्धानको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरमा प्रचार–प्रसार तथा जनचेतना जगाउनेको उद्देश्यले आयोजना गरिएको मेलाले उद्देश्य अनुसार उपलब्धि भइरहेको फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए।
हाल ४३ जिल्लामा लगभग ६९७ पुष्प व्यवसाय विस्तार भइसकेको छ। करिब १५३ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको र ४३,५०० भन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराइरहेको अध्यक्षले बताए।