ईकोनोमिक खबर, काठमाण्डौां आठौं संस्करण फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ काठमाण्डौंमा शुरु भएको छ।
आजबाट भृकुटीमण्डप स्थित प्रदर्शनीस्थलमा आयोजित शुभारम्भ भयो। यस कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलन बाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गरेका हुन् ।
एक्स्पो उद्घाटन गर्दै मन्त्री श्रेष्ठले स्वदेशी उत्पादनको बजार बिस्तार भईरहेको देख्दा खुसी लागेको बताएका थिए । फर्निचरजन्य उत्पादनको परनिर्भरता घट्दै गईरहेको अवस्थामा यसलाई थप तिब्रता दिनु पर्ने भन्दै उनले सरकार, व्यवसायी सबैले मिलेर अघि बढ्नु पर्नेमा जोड दिए ।
नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले व्यवसायीको पहलले मात्र निर्यातको बाटो पहिल्याउन सजिलो नभएको भन्दै राज्यले अग्रसरता लिनुपर्नेमा जोड दिए । स्विदेशी उत्पादनको प्रवद्र्धनका लागि नै एक्स्पो आयोजना गरिएको उनको भनाई थियो ।
नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजनामा ५ दिनसम्म चल्ने एक्स्पोले फर्निचर तथा फर्निसिङका आयातित उत्पादनलाई प्रतिस्थापन गर्न टेवा पुर्याउने अपेक्षा गरिएको छ । हरेक दिन बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म अवलोकनकर्ताका लागि एक्स्पो स्थल खुल्ला गरिने एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ । एक्स्पोमा प्रवेश निशुल्कको ब्यवस्था गरीएको आयोजकले जनाएको छ।
प्रदर्शकहरुले चाडपर्वलाई लक्षित गरी एक्स्पो अवलोकनकर्तालाई विभिन्न किसिमका अफरहरु सञ्चालन गर्नेछन् । विभिन्न ब्राण्डका प्रदर्शकहरुले वस्तु तथा सेवा हेरी अवलोकनकर्तालाई फर्निचर तथा फर्निसिङ, होम अप्लाइन्सेज लगायतका सेवा तथा उत्पादन अफरमा उपलब्ध गराउने छन् । यसका साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।