ईकोनोमिक खबर, काठमाण्डौं। सरकारले वैदेशिक रोजगारीमा जानेलाई अनलाइनबाट श्रम स्वीकृति गर्ने निर्णय गरेसँगै वैदेशिक रोजगारीमा जानेहरूले पाउने सास्ती कम भएको छ।
पुन श्रमः स्वीकृति लिनकै लागि देशका कुना–कुनाबाट काठमाडौँ आएर लजको बास र होटेलको भात खाएर राती देखि लाइन बस्नुपर्ने सास्तीको अत्यन्त भएको छ।
वैदेशिक रोजगारीको गन्तव्य तय गर्न पहिलो पाइला चालेका युवालाई सास्ती केन्द्र बनेको श्रम कार्यालय तहाचल आजभोलि सुनसान भएको पाइन्छ । वैदेशिक रोजगारीमा पहिलोपटक मात्रै जान लागेकालाई मात्रै होइन, पटक–पटक वैदेशिक यात्रा गरेर अन्य देशको परिवर्तन प्रत्यक्ष भोगेका अथवा उक्त परिवर्तनमा सरिक भएकाहरूलाई आफ्नो देशमा एउटा श्रम गर्न अथवा राज्यलाई शुल्क तिर्न खेप्नुपरेको सास्तीले आजित पारेको हुन्थ्यो, हैरान पारेको हुन्थ्यो । तर, सरकारले चाह्यो भने परिवर्तन हुन समय लाग्दैन भन्ने ज्वलन्त उदाहरण बनेको छ, अहिलेको श्रम कार्यालय तहाचल ।
बैदेशिक रोजगार विभागले ल्याएको नयाँ नीतिले अब श्रम गर्नका लागि श्रम कार्यालय धाउनुपर्ने अवस्था अन्त्य सँगै श्रमिकका सास्ती सकिएका छनः महानिर्देशक शेषनारायण पौडेल।
घरमै बसी–बसी श्रम गर्न सकिन्छ। हाल दैनिक एक हजारसम्मको अनलाइनमार्फत श्रम स्वीकृत गर्दै आएको कार्यालयले आवश्यकताअनुसार यसलाई बढाउन सक्ने पनि जनाएको छ । श्रम कार्यलयले भिडभाड कम गर्न चालेको यो कदम पछिल्लो समय निकै उपयोगी र प्रभावकारी बन्दै गएको पाइएको छ । श्रम कार्यालयजस्तै अन्य कार्यालयले पनि आफ्नो कार्यालयलाई व्यवस्थित गर्न ध्यान दिने हो भने परिवर्तनका ठूला नारा लगाई राख्नुपर्दैन।
त्यहाँ आजभोलि न भिड भाड छ, न त व्यवस्थापनमा खटिने प्रहरी र कर्मचारीलाई सास्ती पनि । श्रम गर्नकै निम्ति विभिन्न जिल्ला बाट काठमाण्डौं आउनुपर्ने र लज तथा होटेलको बास र राती देखि लाइन बस्नुपर्ने अवस्था पनि छैन । बैदेशिक रोजगार विभागले ल्याएको नयाँ नीतिले अब श्रम गर्नका लागि श्रम कार्यालय धाउनुपर्ने अवस्था अन्त्य सँगै श्रमिकका सास्ती सकिएका छन।
यसरी लिन सकिन्छ श्रम स्वीकृति
श्रम स्वीकृतिको अनलाइन सेवा लिन वैदेशिक रोजगार विभागको वेबसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजात सहित फाराम भर्नुपर्नेछ । यसका लागि सुरुमा विभागको वेबसाइट www.dofe.gov.npमा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्ने हुन्छ । अथवा सीधै feims.dofe.gov.npमा गएर पनि खोल्न सकिनेछ ।
श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सोको कारणसहितको सूचना आवेदकको मोबाइल नं र आवेदन गर्दाको युजर एकाउन्टमा जाने हुँदा आफ्नो व्यक्तिगत मोबाइल नं र इमेल ठेगाना अनिवार्य रूपमा भर्नुपर्नेछ । युजरनेम र पासवर्ड प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकाले आवेदन गर्दाको युजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ ।
अनलाइनमा कागजातहरू जाँच गर्न समय लाग्ने भएकाले कम्तीमा तीन दिनअगाडि अनलाइन फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको प्रबन्ध गर्न कार्यालयले आग्रह गरेको छ । उडान हुने मिति सम्म श्रम स्वीकृतिको म्याद ९० दिन भन्दा बढी हुनुपर्ने भएकाले सो बमोजिम भए–नभएको यकिन गर्न पनि कार्यालयले भनेको छ ।