अबाकस शिक्षामा विद्यार्थीहरुको सहभागिता बढ्दै


ललितपुर । पछिल्लो समय विद्यार्थीहरु माझ प्रभावकारी सिकाईको माध्यम बन्दै गईरहेको अबाकस शिक्षामा विद्यार्थीहरुको उल्लेख्य सहभागिता हुँदै आएको छ।

ललितपुरको चापागाउँ दोबाटोस्थित ब्राइट फ्युचर सेकण्डरी स्कुल एण्ड कलेजमा बाल विकास एन.सि.मास प्रा.लिको आयोजनामा विद्यालय स्तरको अबाकस कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कक्षा १ देखि ७ सम्मका करिब ४ सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । यस अबाकस प्रतियोगिताबाट छानिएका विद्यार्थीहरुले फागुनमा हुने राष्ट्रिय स्तरको अबाकस प्रतियोगितामा भाग लिन पाउने छन् ।

के हो अबाकस ? 

अबाकस भनेको कम्प्युटरको इतिहासमा सबभन्दा पहिलो हिसाब गने साधनका रूपमा चिनिन्छ । यसबाट लामा र जटिल हिसाबहरू पनि धेरै छिटो र सजिलैसँग गर्न सकिन्छ । यो साधन चीन र जापानका व्यापारीहरूले अहिलेसम्म पनि प्रयोग गरिरहेका छन् । यसबाट जोड, घटाउ, गुणा र भाग सजिलैसँग गर्न सकिन्छ ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनसिमास संस्थाका सिइओ तेजु नेपालले यस प्रतियोगिताले विद्यार्थीहरुलाई एकाग्र बनाउन मद्दत पुग्ने र अध्यापन गराउदा ध्यान दिने बानीको विकासमा वृद्धि हुने बताए।

यस्तै, उक्त कार्यक्रममा बोल्दै ब्राइट फ्युचर सेकण्डरी स्कुल एण्ड कलेजका प्रिन्सिपल बासुदेब कोइरालाले विद्यार्थीहरुको यस अबाकस शिक्षाले गर्दा पठनपाठान राम्रो भएको बताए ।

त्यसैगरी, कार्यक्रममा ब्राइट फ्युचर कलेजका प्रमुख किशोर अधिकारी र स्कुल एडमीन चिफले आफ्ना भनाई व्यक्त गरेका थिए । उक्त कार्यक्रममा अभिभावकहरुको उल्लेख्य उपस्तिथि रहेको थियो ।