नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ८औँ संस्करणको “चेम्बर एक्स्पो २०२५” आयोजना हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा माघ १७ देखि २१ गतेसम्म चेम्बर एक्स्पो २०२५ आयोजना हुने चेम्बर अफ कमर्सले जनाएको छ ।
अन्तर्राष्ट्रिय स्तरको Software and AI Project सहित आयोजना हुने चेम्बर मेलामा स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले जानकारी दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तराष्ट्रिय स्तरको व्यापार मेला गर्न लागेको हो ।
नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाई छ । सूचना प्रविधिको विकाससँगै चेम्बर एक्स्पोको आर्कषणका रुपमा यो वर्ष Software and AI Project स्टलका रुपमा रहनु सवैभन्दा महत्वपुर्ण रहेको अध्यक्ष अग्रवालले बताए ।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको सूचना प्रविधि उद्योगहरुलाई अन्तराष्ट्रिय आईटी कम्पनीको व्याकअपका रुपमा विकास गरिनुपर्नेमा जोड दिएका छन् ।