ईकोनोमिक खबर,
भद्रपुर, स्थानिय संवादाता। झापामा व्यावसायिक रूपमा गरिएको मेवाखेतीबाट मनग्य आम्दानी हुनथालेको छ। मेचीनगर नगरपालिका–९ का डिल्ली उप्रेती र अर्जुनधारा नगरपालिका–१० का प्रेमसागर सापकोटाले मेवाको व्यावसायिक खेती थताल्नु भएको हो।
यतिबेला दुवैको बगैँचामा मेवा पाक्न थालेको छ। पाकेको मेवा किन्नका लागि व्यापारी घरमै आउन थालेका उप्रेतीले बताउनुभयो । उहाँले भाडामा लिएको १० कठ्ठा जमीनमा एक हजार विनायक जातको बिरुवा हुर्काउनुभएको छ। उहाँले ‘डिएन्डडी बायोप्लानटेक’ नामक संस्थामार्फत मेवाखेती गर्नुभएको हो। उप्रेतीको खेतमा मेवा लटरम्म फलेर पाक्न थालेको छ।
दैनिक १०० किलो मेवा प्रतिकिलो रु ५० का दरले बोटबाटै बिक्री भइरहेको उप्रेतीले बताउनुभयो । उहाँले हालसम्ममा सात हजार किलो मेवा बिक्री गरिसकेको बताउनुभयो। “अब चार हजार किलो बिक्री गर्न बाँकी छ”, उहाँले भन्नुभयो। रोपेको आठ महीनामै आम्दानी दिने गरेको मेवाखेतीबाट खर्च कटाएर रु पाँच लाख आम्दानी हुने गरेको उप्रेती बताउनुहुन्छ । उहाँले उत्पादन गरेको मेवा घरबाटै दमकस्थित अधिकारी फलफूल पसलका सञ्चालकले खरीद गर्दै आउनुभएको छ। उहाँले भन्नुभयो, “माग धान्नै गाह्रो भयो, परीक्षणका लागि थोरै मात्र खेती गरेका थियौँ।”
आधा दशकदेखि नर्सरी र कृषि क्षेत्रमा सक्रिय उप्रेतीले पहिलोपल्ट परीक्षणका लागि मेवाखेती गरिएको बताउनुभयो। “मेवाखेती फाइदाजनक छ भन्ने हाम्रो अनुमान हो”, उहाँ भन्नुहुन्छ, “जन्डिस र आँखा कमजोर भएका बिरामीले नियमित सेवन गर्ने गुण भएका कारण बजारमा यसको माग बढेको हो।” मेवाखेतीमा कम लगानीमै धेरै उत्पादन गर्न सकिने हुँदा मेवाको व्यावसायिक खेती शुरु गरेको उप्रेतीले बताउनुभयो। “यस वर्ष १० कठ्ठामा लगाएको छु, एक बिघा जमीनमा थप खेती गरेको छु”, उहाँले भन्नुभयो।
यस्तै प्रेमसागर सापकोटाले वार्षिक रु ४० हजार प्रतिबिघाको दरले तीन बिघा जमीन भाडामा लिएर मेवाको सात हजार बिरुवा हुर्काउनुभएको छ। उहाँले हुर्काएको मेवाको बोटमा एउटै मेवा तीन किलोसम्मको फलेको छ। “बिरुवा रोपेको छ महीनामै फल्न थाल्यो”, उहाँले भन्नुभयो, “नौ महीना भएपछि पाक्न शुरु भयो, बेच्न थालेका छैनौँ।” उहाँका अनुसार मेवा किन्नका लागि काठमाडौँ र पोखराका व्यापारी आउने गरेका छन्। एउटै फल तीन किलोसम्मको हुने, एउटा बोटमा वर्षेनी १७५ किलोसम्म फल उत्पादन हुने र तीन वर्षसम्म बाह्रैमास फल लागिरहने भएकाले मेवाखेतीबाट मनग्य फाइदा हुने सापकोटाले बताउनुभयो। उप्रेती र सापकोटाले प्राविधिक समस्या भने प्रशस्तै झल्नुपरेको छ।