
ईकोनोमिक खबर, काठमाडौं। नर्भिक इन्टरनेशनल अस्पतालले आउने आइतबार देखि बन्द रहेको ओपिडी सेवा पूर्णरुपमा पुनः संचालनमा ल्याउने भएको छ।
कोभिड १९ को दोश्रो लहरको संक्रमण तिब्ररुपमा बढेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिक अस्पतालले ओपिडी सेवा बन्द गरेको थियो।
पछिल्लो समय कोभिड संक्रमणका बिरामी निरन्तर घटिरहेको छ । कोभिड संक्रमण घटेसँगै अस्पतालमा उपचारका लागि आउने कोभिड नभएका बिरामीहरुको चाप ह्वात्तै बढेको छ । कोभिडका बिरामीको संख्या घट्नु र नन्कोभिडका बिरामीको संख्या ह्वात्तै बढेपछि उनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी निजी अस्पताल संचालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन)को निर्णयअनुसार नर्भिकले ओपिडी सेवा पुनः सुचारु गर्ने भएको हो।
नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार अस्पतालमा आउने बिरामीहरुको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर पूर्ण रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित ओपिडी सेवा संचालनमा ल्याउने तयारी गरिएको छ ।
आइतबारदेखि नर्भिकमा कोभिडको दोश्रो लहर फैलिनुअघि संचालनमा रहेका बहिरंग विभाग अन्तर्गतका सबै सेवा उपलब्ध हुनेछ।
नर्र्भिकको यो निर्णयबाट कोभिड संक्रमणका कारण समयमै उपचार नपाएका नन्कोभिड बिरामीहरुको समयमै सुलभ स्वास्थसेवा पाउने सिंहको अपेक्षा छ।