काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना देखियो


ईकोनोमिक खबर, काठमाडौं। काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना देखिएको छ। आफूलाई कोरोना देखिएको मंगलबार जारी विज्ञप्तिमार्फत सारा उपत्यकाबासीलाई जानकारी गराएका छन। छिट्टै कोरोनालाई परास्त गरी तपाईंहरुको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छुु, उनले भनेका छन्।

तपाईंहरुको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनु भएको सद्‌भावले मलाई थप ऊर्जा प्राप्त भएको छ, मंगलबार एक विज्ञप्ति जारी गर्दै शाक्यले भनेका छन्, यो ऊर्जाले कोरोनालाई परास्त गर्न मलाई थप हौसला प्राप्त भएको छ।

उनले उच्च सावधानी अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौं र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा आफूलाई संक्रमण पुष्टि भएको बताएका छन्। ‘विश्व नै अहिले कोरोनाको कहरमा छ।

नेपालमा पनि हरेक दिन कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गैरहेको छ। संघीय राजधानी काठमाडौं उपत्यका र काठमाडौं महानगरपालिकामा समेत संक्रमितको संख्या दिनहुँ बढिरहेको छ,’ उनले भनेका छन,’ ‘यस्तो जटिल परिस्थितिमा समेत उच्च सावधानीका अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौं र उपत्यकावासी लाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा मलाई संक्रमण पुष्टि भएको छ।’