ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकको एटीएमबाट पैसा निकाल्दा लाग्ने शुल्क नलिन बैंक तथा वित्तिय संस्थालाई जानकारी गराएको छ। नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकले कोरोनाको संक्रमण अवधिभरका लागि यस्तो सेवा निःशुल्क गर्नुपर्ने नीति लिएको थियो। केही बैंकले भने यस्तो सेवा निःशुल्क गर्दै आएका थिए तर अब सबै बैंक तथा वित्तीय संस्थाले परिपालना गर्नुपर्नेछ। यो व्यवस्था पछि नेपालभित्रका कुनै बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्ड प्रयोग गरेर स्वदेश भित्रकोे कुनैपनि एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन। विदेशबाट हुने कारोबारमा भने यस्तो शुल्क लिन बन्देज गरिएको छैन।
निर्देशनमा, त्यसरी जारी गरिएको कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अघि नै त्यसको सूचना सम्बन्धित बैंक तथा वित्तीय संस्थाले एसएमएसमार्फत् प्रयोगकर्तालाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ । त्यसरी सूचना दिँदा एटीएम कार्ड नवीकरणवापत लाग्ने शुल्क समेत उल्लेख गर्नुपर्ने भनिएको छ। एउटा बैंक ताथ वित्तीय संस्थाले एउटै ग्राहकको नाममा एकभन्दा बढी कार्ड जारी गर्न नपाउने व्यवस्था समेत प्रष्ट पारिएको छ।
डिजिटल माध्यमबाट हुने कारोबारको सीमामा राष्ट्र बैंकले सामान्य मात्रै हेरफेर गरेको छ । एकीकृत निर्देशनमा डेबिट कार्डबाट वस्तु तथा सेवा खरिद गरी हुने भुक्तानीका लागि मासिक ४ लाखको सीमा कायम गरिएको छ । यसअघि यस्तो सीमा थिएन । सोही कारोबारमम प्रतिकारोबार २५ हजार र प्रतिदिन १ लाखसम्मको यसअघिको सीमालाई भने यथावत राखिएको छ ।
बैंकबाहेक अरु भुक्तानी सेवा प्रदायकले पनि २५ हजारसम्मको प्रिपेडकार्ड जारी गर्न पाउने भएका छन् । यसअघि त्यस्ता संस्थालाई प्रिपेड कार्ड जारी गर्ने अनुमति थिएन। तर, बैंक तथा वित्तीय संस्थालाई १ लाखसम्मको कार्ड जारी गर्ने अनुमति दिँदा त्यस्ता संस्थालाई २५ हजारको सीमा कायम गरिएको हो।
मोबाइल, वालेट तथा इन्टरनेट बैंकिङ कारोबारको सीमामा भने कुनै संशोधन गरिएको छैन। सरकारी कार्यालयमा भुक्तानी गर्ने राजश्व, जरिवाना, दस्तुर लगायतको शुल्क, विद्युत्, खानेपानी, स्वास्थ्य संस्था लगायतमा भुक्तानी बिलबमोजिमको रकमका लागि यो सीमा लागु नहुने व्यवस्था समेत गरिएको छ।
कोभिड १९ का कारण एटिममा आउने समस्यालाई बैंक तथा वित्तिय संस्थाका शाखाहरु बन्द अवस्थामा सर्वसाधारणलाई सहज बनाउन राष्ट्र बैंकले सम्पर्क ब्यक्तिको सुचना प्रष्ट देखिने स्थान राख्न जानकारी गराएको छ।