ईकोनोमिक खबर काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक सुचना बैंक संचालनमा ल्याएको छ।
मन्त्रालयमा एक औपचारिक कार्यक्रम गरि श्रम मन्त्री रामेश्वरराय यादवले श्रम बैंक संचालनमा ल्याएको घोषणा गरेको छ।
गत साता श्रमिक बैङ्क तथा श्रम बैङ्क सम्बन्धी अध्ययन गर्न गठित कार्यदलले श्रम मन्त्रीसमक्ष प्रतिवेदन बुझाएको थियो । उक्त कार्यदलले तयार गरेको प्रतिवेदनमा श्रम सूचना बैङ्कमा श्रम बजारमा प्रवेश गर्ने श्रम शक्तिको योग्यता, ज्ञान, सीप, दक्षता तथा अनुभवको लेखाङ्कन गरी कुन क्षेत्रमा रोजगार वा स्वरोजगारमा रहेका अत्यावश्यक विवरण सूचना प्रविधिमा आबद्ध गरी श्रमिक र रोजगारीको क्षेत्र सम्बन्धी विस्तृत सूचना रहने बैङ्क स्थापना गर्न सुझाव दिएको थियो।
रोजगार सुचना पोर्टलमा गएर श्रमिक र रोजगारदाता आवद्धता जनाउन सक्छन । बेरोजगार युवाले आफुले आर्जन गरेको सीप खुल्ने विवरण राख्न सक्ने छन । त्यस्तै रोजगारदाताले आफुलाई चाहिएको श्रमिक पोर्टलबाटै लिन सक्ने छन । पछि संस्थागत संरचना गराएर अझ व्यवस्थित गरिने श्रम मन्त्रालयका सहसचिव कुमार दाहालले इकोनमिक खवरलाई जानकारी दिए ।उहाँले बैङ्कमा श्रमिक र रोजगारदातासँगै बजारमा भएको काम र अवसरको समेत जानकारी हुने भएकाले श्रमिक र रोजगारदातालाई जोड्न सजिलो हुने पनि बताउनुभयो।
उहाँका अनुसार श्रम बैङ्क मार्फत कृषि, उद्योग, होटल लगायत श्रम आर्जन गर्नसक्ने जनशक्ति के–कति सङ्ख्यामा रहेका छन्, के–कस्ता ज्ञान, सीप हासिल गरेका रहेछन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् भन्नेबारे एकीकृत रूपमा सूचना प्राप्त हुनेछ।देशका विभिन्न क्षेत्र, पेसा वा व्यवसायमा संलग्न हुन चाहने वा हाल कार्यरत श्रमिकको विवरण तथा वैदेशिक रोजगारीमा गएका वा फर्किएका जनशक्तिमा रहेको सीप तथा योग्यताको समेत अद्यावधिक विवरणसमेत समेटिने बताइएको छ।
मन्त्रालयले ७५३ पालिकामा रहेको रोजगार व्यवस्थापन सूचना प्रणाली सुदृढ बनाई क्षेत्रगत रूपमा सीपमूलक जनशक्तिको विवरण सङ्कलन तथा अद्यावधिक गरी सरकारी तथा निजी क्षेत्रलाई उपयोगी हुने विश्वासका साथ स्थानीय सरकार र प्रदेश सरकार सँगको साझेदारीमा अन्तर आबद्धता कायम हुनेगरी प्राथमिकतापूर्वक श्रमिक बैङ्कको कार्य गरिने उद्देश्य राखेको जनाएको छ।
सरकारले नीति तथा कार्यक्रम र बजेटमा पनि श्रम बैंक संचालनमा ल्याउने घोषणा गरेको थियो । हाललाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत संचालनमा आउने छ । पछि आन्तरिक रोजगार महाशाखा गठन भएपछि महाशाखा मातहतमै रहने छ।