ईकोनोमिक खबर, काठमाडौं।
नेपालकै ठूलो कुषिको प्रदर्शनी ‘नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०’ चितवन उद्योग संघको नवप्रविधियुक्त भवन चितवन एक्स्पो सेन्टर, भरतपुरमा फागुन १६–१८ गतेसम्म हुने भएको छ। नेपाल पोल्ट्री महासंघको आयोजना तथा मिडिया स्पेस सोलुसन प्रा. लि. र फ्यूचरेक्स ट्रेड एण्ड ईभेण्ट प्रा. लि.को सहकार्यमा उक्त अन्तर्राष्ट्रिय प्रदर्शनी हुन लागेको हो।
प्रदर्शनीमा २०० भन्दा बढि नेपाली र विदेशी कम्पनि पोल्ट्री कम्पनीहरुको सहभागिता रहने जनाइएको छ । यस प्रदर्शनी बाट नेपाली कृषकहरुले पोल्ट्री क्षेत्रको सुदृढीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेण्ट्स, डेरी उद्योग, पोल्ट्री उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योग लगायत पशुपन्छी पालन, प्रशोधन र बजारीकरण सम्बन्धमा सहयोग हुने उद्देश्यले प्रदर्शनी गर्न लागिएको नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले बताए।
नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि उद्यम केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ लगायतको उक्त प्रदर्शनीमा प्रत्यक्ष सहयोग रहने छ, यस प्रदर्शनीमा नेपाल लगायत भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजरायल, बंगलादेश लगायतका देशहरुबाट पोल्ट्री कम्पनीहरुको सहभागिता रहने जनाइएको छ।
नेपाली पोल्ट्री क्षेत्रको अग्रज क्षेत्र चितवन र देशकै केन्द्रमा रहेको जिल्लामा यसमेलाले पोल्ट्री उद्योगपति, स्थापित व्यवसायी, क्षेत्रगत पेशाकर्मी तथा समग्र किसानहरु लगायतका प्रत्यक्ष संलग्नतामा रहेन उक्त प्रदर्शनीमा नविनतम प्रविधिहरुको प्रदर्शनी रहने आयोजकले जनाएको छ। उक्त प्रदर्शनीमा नेपाल भेटेरिनरी संघको सहकार्यमा ४ दिने पोल्ट्री पाठशाला सेमिनारको समेत आयोजना गरिने महासंघका अध्यक्ष विष्टले बताए।