विस्तारै बुलिस बाटो समातेको अनुमान सहित लगानीकर्ता सेयर बजारमा आकर्षित


ईकोनोमिक खबर, काठमाडौं।

पुँजी बजारमा आइतबार झनै हरियो भरिएको छ । बढ्दो कारोबार र सूचक दुवै माथि लाग्दा बजारमा उत्साह देखिएको हो ।
आज आइतबार नेप्से १३५० विन्दुभन्दा माथि अडिएको छ । जसका कारण लगानीकर्तामा झन बढी उत्साह देखिएको छभने ब्रोकर अफिसमा शेयर खरिदबिक्रीमा भिडभाड निकैनै बढ्दो छ। बजार बढ्दै जाँदा सूचीकृत कम्पनीहरुको शेयर भाउ दिनहुँ उकालो लागिरहेको छ । अब विस्तारै बुलिस बाटो समातेको अनुमान सहित लगानीकर्ता सेयर बजारमा आकर्षित भएका हुन् ।

लामो समयसम्म बजार ओरालो लाग्दा सेयर भाउ निकै सस्तो भइसकेको थियो । भाउ सस्तो भएपछि लगानीकर्ताहरु एकाएक सेयर बजारमा आकर्षित भएका हुन् । बैंक ब्याजदर घट्दो क्रममा छ । बैंकहरुले ग्राहक खोजीखोजी सेयर कर्जा प्रवाह गर्न थालेका छन् । यसले पनि बजार थप गतिशील बनेको हो ।

आइतबार नेप्से सूचक १९।३९ अंकले बढेर १३६३।९७ विन्दुमा अडिएको छ । १७६ कम्पनीको १ अर्ब ९७ करोड ८१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४१ लाख ५ हजार १३४ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कुल १२ समूहको सेयर कारोबार भएकामा ३ समूहबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । लगानीकर्ताहरु बिमा कम्पनीहरुमा झुम्मिएका छन् । जस अनुसार निर्जीवन बिमा समूहको सूचक ४१६।७९ अंकले बढेको छ भने जीवन बिमा समूह पनि ३९८।६९ अंकले माथि लागेको छ । यता, वाणिज्य बैंक समूहको सूचक भने ५।१५ अंकले सुधार भएको छ ।

खरिदबिक्री रकममा हिमालयन डिष्टिलरीले अग्रता लिएको छ । यसको १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यसैगरी, खरिदबिक्रीमै दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल लाइफ इन्सुरेन्स परेका छन् । यस दिन सबैभन्दा धेरै राधि विद्युत कम्पनीका लगानीकर्ताले ९।४९५ का दरले कमाएका छन् । यसैगरी, एनएलजीको ९।४६५, ङादी ग्रुप पावर कम्पनीको भाउ ९।२४५ ले बढेको छ ।